४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


वेस्ट इन्डिज ‘ए’ले एक खेलअगावै जित्यो सिरिज



२० वैशाख । वेस्ट इन्डिज ‘ए’ले एक खेलअगावै घरेलु टोली नेपालसँगको ५ खेलको टी-२० सिरिजको उपाधि जितेको छ । बिहीबार भएको चौथो खेलमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितेको हो ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १८१ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेले । रोहितले ४७ बलमा ८२ रन बनाए । सोक्रममा उनले ७ वटा चौका र ५ वटा छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले १४ बलमा २ चौकाको सहयोगमा १९, दीपेन्द्रसिंह ऐरीले १४ बलमा २ चौकाको सहयोगमा १९ र गुल्सन झाले १४ बलमा ३ चौकाको सहयोगमा १९ रनको योगदान दिए । यस्तै अभिनाष बोहराले ८ बलमा १७ रन बनाए भने सोमपाल कामीले १० बलमा १० रन बनाए ।

त्यस्तै कुशल मल्ल ४ रनमा आउट हुँदा कुशल भुर्तेल १ रनमा आउट भए भने आसिफ शेख शून्य रनमा आउट भए । वेस्ट इन्डिज ‘ए’का लागि म्याथ्यु फोर्ड र हेडल वाल्सले समान ३-३ विकेट लिए भने फबिएन एलेनले २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतकीय इनिङ खेले । फ्लेचरले ५४ बलमा ८४ रन बनाए । सोक्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै चार्ल्सले ३० बलमा ६ छक्का र ३ चौका‍को सहयोगमा ५८ रन बनाए ।

 

यस्तै फबिएन एलेनले १९ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ३३ रन बनाए भने एलिक एथानाजेले ७ बलमा १ चौकाको सहयोगमा ५ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ११ : ०९ बजे