१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


समिक्षा : प्रश्नै प्रश्नको घेरामा चलचित्र ‘आचार्य’



ललितखबर
९ असार । नेपाली कला क्षेत्रमा योगदान दिने कलाकारहरुको जीवन कहानी विरलै सार्वजनिक हुन्छन् । कतिपय विशिष्ठ व्यक्तिले आफूले भोगेका जीवनका अनुभव अन्तिम समयमा पुस्तकको रुपमा आत्मबृत्तान्त सार्वजनिक गरेको पाइन्छ ।
नेपाली सुगम संगीत क्षेत्रका प्रभावशाली गायक भक्तराज आचार्यको जीवनकहानी रहेको चलचित्र ‘आचार्य’ पुनःप्रर्दशन सुरु भएको छ । लामो समयसम्म रोगसँग लडेर थाकेका गायक भक्तराज आचार्यको केही समयअघि निधन भएसँगै चलचित्र पुनःप्रर्दशन सुरु भएको हो । धेरै दर्शकमाझ चलचित्र पुग्न नसकेको र दर्शकले हेर्न चाहेको भन्दै निर्माणपक्षले चलचित्र केही परिमार्जन सहित पुनःप्रर्दशन गरिएको जानकारी दिएको थियो ।
यद्यपी चलचित्रमा खासै थपघट गरिएको छैन । गायक भक्तराज जीवित रहेको अवस्थामा प्रर्दशन भएको कारण मृत्युपछि चलचित्रमा राख्न नसकिएको केही दृश्य राखिएको आकलन गरिएको भए पनि चलचित्रमा विरामी अवस्थाका केही दृश्य र मृत्युपछिको सर्वसाधारणले श्रद्धाञ्जली दिएको दृश्य मात्रै समेटिएको छ ।
चलचित्रमा गायकले जीवनकालमा संगीत क्षेत्रमा स्थापित हुनका लागि गरेको संर्घषका क्षणहरु समेटिएको छ । भारतको पश्चिम बंगालको दुम्सीपाडास्थित चिया बगानमा जन्मिएको एउटा वालक संगीत गुरुको संगतपछि गायक बन्न गरेको संर्घष चलचित्रमा हेर्नलायक छ ।

चलचित्रमा भक्तराजको भूमिकामा अभिनय गरेका गायक सत्यराज आचार्य ।

चलचित्रले गायक आचार्यको संर्घषको अवधिमा रेडियो नेपालमा सरकारी रवैयालाई प्रष्टसँग देखाएको छ । रेडियो नेपालमा जागिरे प्रशासकहरुले गायक गायिकालाई दिने गरेको सास्ती प्रष्ट ढंगले देखाएको छ । गायक बन्नका लागि झोलीतुम्बा बोकेर भारतदेखि नेपाल आएर रेडियो नेपालमा अडिसन दिन पुगेको, रेडियोमा प्रशासकहरुले आश्वासन मात्रै दिएको, शहरको चिसो छिडीमा सुतेकोलगायत दारुण दृश्य चलचित्रमा छन् ।

चलचित्र आचार्यमा धेरै पात्रले अभिनय गरेका छन् तर एक दुई कलाकार बाहेक सबैको भूमिका नगन्य छ ।
चलचित्रमा प्रकाश घिमिरे, सौगात मल्ल र दयाहाङ राईजस्ता कलाकारहरुको अनुहार एक दुई सिनमा देख्न सकिन्छ भने बाँकी स्वरुपराज आचार्य वावु भक्तराजको भूमिकामा छन् । चलचित्रमा भजन शिरोमणी आचार्यले जीवनका कुनै कालखण्डमा गरेको गलत काम वा निर्णयको छनक भेटिन्न ।
गायक आचार्य जीवनभर मृतप्राय सरिर लिएर बाँचे । उनलाई त्यो हालत पु¥याउनेहरुको बारेमा चलचित्र बोलेको छैन । पुरै आधा जीवन कष्टकर रुपमा विताएको देशका प्रतिष्ठित गायकको जीवनमा आइपरेको अकल्पिनिय जीवन भोगाईको कारण कारक तत्वको बारेमा चलचित्र मौन रहनु दुखद छ ।
देशको गहनाको रुपमा मानिने एउटा कलाकारको त्यो नरकीय जीवन भोग्न बाध्य गराउने अपराधिहरु किन आजसम्म पक्राउ परेनन् ? प्रहरी प्रशासन किन मौन चलचित्र प्रर्दशनको क्रममा सञ्चारकर्मी तथा गीतकार भुपेन्द्र खड्काले लामो समयसम्म प्रयास गरेपछि अन्र्तवार्ता लिएको तथ्य प्रस्तुत गर्नु र अन्य सञ्चारमाध्यमहरुसँग जीवनभर किन भक्तराज बोल्न चाहेनन् ? चलचित्र हेरिरहदा दर्जनौं प्रश्न उव्जिन्छन् ।

स्व.भक्तराज आचार्य ।

भजन शिरोमणी आचार्यको वास्तविक जीवनमा आधारित यस चलचित्रमा आक्रमण गर्ने एक अपराधि पक्राउ परेको तथ्य खुलाइएको छ । त्यसपछिका सबै कुरा आजपर्यन्त गोप्य राखिनुको कारण के हो ? दर्शकलाई प्रश्नै प्रश्न उठाउने ठाँउ राखिएको छ ।
चलचित्रमा भजनशिरोमणी आचार्यले मादक पदार्थ सेवन गरेर झगडा गरेको कुरा सञ्चारमाध्यमहरुले प्रकाशन गरेको तथ्य राखिएको छ । तर सो तथ्य गलत थियो भन्ने पुष्टि भने गरिएको छैन ।
चलचित्रभित्र भजनशिरोमणी आचार्य बाचुञ्जेल सो तथ्य खोल्न नचाहेको भए उनको मृत्यपयन्त चलचित्रमा राख्ने अर्को अवसर श्रृजना भएको थियो ।

चलचित्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागी निर्माण समूहका सदस्यहरु ।

चलचित्रमा केही दृश्य थपिएको प्रकाशमा आएपछि ती दृश्य नगन्य छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जाल युट्युवलगायतमा छ्यापछ्याप्ती भेटिने आर्यघाटका दृश्यहरु चलचित्रको अन्त्यमा राखिएको छ ।
चलचित्रको सिनेमेट्रोग्राफी पनि गतिलो छैन । पुरानो प्रविधिका कारण फुङ्ग उठेको रंग चलचित्र हेर्दा अनुभव हुन्छ । दृश्य डिजिटल प्रविधिमा रुपान्तरपछि रंग संयोजनलगायतका धेरै काम गर्न सकिनेतर्फ प्राविधिकहरुलाई काम लगाइएको छैन ।
चलचित्रको पटकथा तथा संवाद पनि चोटिलो लाग्दैन । भजन शिरोमणी आचार्यको जीवन भोगाईलाई टुक्रा टुक्रामा खिचेर भिडियो रुपमा देखाइएको दर्शकलाई भान पर्छ । निर्देशकले चलचित्रको प्रस्तुतीलाई नयाँपन दिनै सकेका छैनन ।
दर्शनौं भावुक हुने दृश्यहरुमा दर्शकको आँखा टक्क अडिएको भान हुँदैन । चलचित्रको निर्माण पक्षले धेरैकाम गर्नसक्ने ठाँउ भेटिन्छ ।
चलचित्रमा पार्र्शसंगीतको पनि समुचित प्रयोग गरिएको छैन । उनका चर्चामा आएका गीतहरुलाई पार्शसंगीतको रुपमा चलचित्रमा राख्न सक्ने ठाँउ भए पनि त्यो जाँगर निर्देशकले गरेका छैनन् ।
चलचित्र आचार्य पारिवारिक आत्मरतिका लागि बनाइएको एउटा भिडियो डकुमेन्ट्रीमा सिमित छ । भजन शिरोमणी भक्तराज आचार्यको गीत संगीत मन पराउनेहरुका लागि यस चलचित्र हेर्नलायक चलचित्र सिद्ध हुन सक्छ ।
राम्रो पक्ष
अक्सर कला क्षेत्रमा प्रवेश गर्नु कठीन काम हो । नेपाली बजारमा कला क्षेत्रमा संर्घष गरे बाँच्न ज्यादै कठीन छ । जुन कुरा चलचित्र ‘आचार्य’मा गायक भक्तराज आचार्यले गरेको संर्घष हेरेर बुझ्न पाइन्छ । गायन क्षेत्रमा स्थापित हुन उनले हण्डर खाएको दृश्यहरु मनछुने किसिमका छन् । भक्तराज चिसो हिउमा भोकभोकै सुतेको, चिया बगान र कारखानामा बाल्यकालमा कष्टकर परिश्रम गरेको, काठमाडौंको गल्लीभित्र घरबेटीले दिएको सास्ती,रेडियो नेपालीको स्टुडियोमा गीत संगीतका लागि संंघर्ष गरेको हेर्नलायक छ ।
भाग्यबश अम्बर गुरूङको साथ पाएपछि उनको जीवनमा आएको बदलावले दर्शकको मन फुकलित बनाउछ ।
पात्रको रुपमा गायक सत्यराज आचार्यले वावु भक्तराजको पात्र उपयुक्त लाग्छ । चलचित्रमा रियाजको क्रममा सत्यराजले गाएको सुर ताल र गायनशैली भक्तराजसँग ठ्याक्कै मिल्दोजुल्दो देखिन्छ । गीतसंगीत क्षेत्रका दलालहरुको कुकर्मलाई चलचित्रले प्रष्टसँग देखाइदिएको छ । गायक भक्तराजका स्वरमा सझिएका गीतहरुले चलचित्रलाई संगीतमय बनाएको छ । हजार सपनाहरूको मायाँ लागेर आउँछ जस्ता गीतहरूमा गायक भक्तराजको स्वरांकन गरिएको छ । जसमा स्वरुपराजले मुख चलाएका छन् । चलचित्रले गायन जीवनको भित्री पाटो उजागर गरेको छ । चलचित्रमा विख्यात पाकिस्तानी गायक गुलाम अलीले समेत अभिनयसँगै गजल गाएका छन् ।
चलचित्र संगीत पारखीहरुका लागि प्रेरक बन्न सक्छ । गायक भक्ङराजका असली प्रशंसकले चलिचत्र हेर्न नछुटाउने किसिमको छ । नेपाली संगीत क्षेत्रको आत्मकथा चलचित्र मार्फत आउनु खुशीको कुरा हो ।
कमजोरी
हुन त चलचित्र आफैमा आत्मबृतान्त भएकाले समग्र कमजोरी केलाउनु उचित नलाग्नपछि सक्छ । तर चलचित्रमा देखाउनु पर्ने विषयबस्तु भने लुकाइएको सन्दर्भ उल्येख नगर्न दर्शकका लागि अन्याय हुन्छ । चलचित्र निर्माणको शैली र कलाको पाटोमा देखिएका कमजोरी खुट्याउनु सान्दर्भिक हुन्छ ।
चलचित्रको स्वरुपमा हलमा प्रर्दशन गर्ने नै भएपछि कथा भन्ने शैली कलात्मक जरुरी हुन्छ । कथ्यशैली सुन्दर भए साधारण कथामा आधारित चलचित्र पनि हेर्नलायक बन्छन् । चलचित्रका निर्देशकले चलचित्रलाई वणनात्मक रुपमा प्रस्तुत गरेका छन् । जसका कारण दर्शक एउटा डकुमेन्ट्री भिडियो हेरेको अनुभव गर्छन् ।
चलचित्रमा चरित्र चित्रण पनि सशक्त छैन । भक्तराजको भूमिका निभाएका सत्यराज आचार्यले औसत चरित्र चित्रण देख्न पाइन्छ । छुच्ची दिदी र सोझी आमाको भूमिकालाई पनि सामान्य रुपमै लिन सकिन्छ ।
चलचित्रमा भक्तराज आचार्यको जीवनसंगीनीको भूमिका निर्वाह गरेकी कलाकार अरूणा कार्कीको अभिनय औसत छ । उनको अभिनय र चरित्र चित्रणमा उल्लेखनीय केही देखिन्न ।
आत्मबृत्तान्तहरुमा जीवनकालमा आफूले गरेको गल्ती र कमी कमजोरीहरु समेत समेटेर इमानदार हुने चर्चित व्यक्तिहरुले गरेको पाइन्छ । तर गायक भक्तराज आचार्यको जीवन कहानीभित्र प्रशंसा र सकारात्मक पाटो मात्रै समेटिएको छ । यद्यपी गायक आचार्यले विवाह गर्न व्यापारीको सहयोग लिएको, खान बस्न समस्या भएपछि फुपुको गाली खाँदै सहरा लिएकोजस्ता केही दृश्य हेर्न पाइन्छ ।
चलचित्रको प्रस्तुतीको कमजोरीका कारण गायकको संघर्ष क्षणले दर्शकको मन छुन सक्दैन । कयौ दुखान्त क्षण दर्शकको आँखाबाट तुरूक्क आँसु झर्दैन । हतारमा कथा भने झै लाग्छ चलिचत्रमा पटकथा र संवाद पनि सशक्त छैन । रोचक र मन बाँध्ने दृष्य चलिचत्रमा भेटिन्न । चलचित्र हेरिरहँदा लाग्छ – लम्बेतान जीवन कहानी दुई घण्टाभित्र देखाउन निर्देशकले कोसिस गरेका छन् ।
चलचित्रमा सत्यराज आचार्यले आफ्ना बाबु भक्तराजको भूमिका बाहेक अन्य पात्र छाँयामा छन् । छोटा भूमिकामा उनीहरु आउछन्, जान्छन् दयाहाङ राई डाक्टरको एक सिनमा सिमित छन् । सौगात मल्ल भट्टीको जाँड खाने गुण्डाको भूमिकामा एक दुई सिनमा मात्रै अटाएका छन् ।
चलचित्रको प्राविधिक पक्षपनि कमजोर देखिन्छ । १५ बर्षअघिको पुरानो प्रविधिले हुनसक्छ चलचित्रका दृश्यहरु फिक्का फिक्का लाग्छन । दृश्यका रंगहरु फुङ उडेका छन् । सिनेमेट्रोग्राफी पनि उल्येखनीय राम्रो छैन ।
चलचित्रको कथा सलल बगेको छैन । सिलसिलाबछ घटना र श्रृखलाबद्ध कथ्यशैली पछ्याएको देखिन्न ।

प्रकाशित मिति : १० असार २०८१, आइतबार  ३ : १७ बजे