ललितखबर
३० असार । नेपाली समाजमा घरज्वाईं प्रथा अझैं पनि कायम छ । कतिपय बाध्यात्मक चलनको रुपमा समेत स्थापित घरज्वाई बस्ने गरिए पनि पश्चिम नेपालका मगर समुदायमा एक महिनासम्म घरज्वाई बसेर मन जित्ने प्रचलनलाई निर्माता जनक घर्तीमगर र निर्देशक अनिल घर्तीमगरले चलचित्रमा उतारेका छन् । शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र घरज्वाईमा नेपाली समाजमा खासै चर्चा नहुने घरज्वाईकाृ विषयबस्तुमा चलचित्र निर्माण गरिएको छ ।
पुरुषबादी समाजमा घरज्वाई बस्नुलाई नामर्दको रुपमा बुझिने गरे पनि मगर संस्कृतिमा यसलाई सकारात्मक रुपमा लिइने चलचित्रले बुझाउन खोजेको छ । घरज्वाई बस्ताको संर्घष र मन पराएकी युवतीसँगको प्रेमभावलाई चलचित्रले गतिलो ढंगबाट देखाएको छ ।
दुर्बल पक्ष
चलचित्रको संवादभित्र असाध्यै धेरै ठाँउमा अश्लीलता झल्कने मामा मुमु शव्दहरु बोलिएको छ । सभ्य दर्शकका लागि यस्ता संवाद विजाउछ । वालवालिका र परिवारको सदस्यले सँगै बसेर हेर्दा असहज अनुभव हुन्छ । समाजभित्रका यतार्थ देखाउन खोजेको तर्क गर्न सकिए पनि नराम्रा कुरा चलचित्रभित्र घुसाउदा घुसाउदै ‘फोहोरको डंगुर’ बनेको निर्देशकले हेक्का राखेका छैनन् । निर्देशकले यो सत्यलाई चाही बुझ्नुपर्छ –मनै अमिलो बनाएर यस्ता संवाद सुन्न कोही पनि दर्शक पैसा खर्चेर चलचित्र हेर्न जाँदैन ।
चलचित्र निर्देशकले आम नेपालीको मुटु छामेर चलचित्र निर्माण गरेको भान हुँदैन । पश्चिम नेपालको पुर्वी रुकुमको तक्सेला वरपरका मगर समुदायको कथा चलचित्रमा उभाइएको छ । मगर संस्कृतीको बारेमा आम नेपालीलाई चासो नहुन सक्छ । दर्शकलाई मनोरञ्जनभन्दा धेरै डकुमेन्ट्रीको शैलीमा मगर संस्कृतीको बयान गरिएको छ ।
राई, लिम्बु र गुरुङजस्ता जातीय पृष्ठभूमिको चलचित्रले पछिल्लो समय बजार लिइरहेको सन्दर्भमा घरज्वाईं अर्को संसकृती बखान गर्दै दर्शक बटुल्ने अभिप्रायले बनाइएको भन्दा फरक पर्दैन ।् चलचित्रको कथाभित्र अन्र्तद्वन्द्व श्रृजना गरेर लेखकले रोचकता थप्दै कौतुहल बढाउन सकेका छैनन् ।
मिरुना र दयाको सुन्दर जोडीको अनस्क्रिन रोमान्सलाई प्राथमिकता दिइएको छैन । घर झगडा, संर्घषको दृश्यले दर्शकलाई दिक्कलाग्दो(मोनोटोनस) बनाउछ ।
गाँउबस्तीको जीवन भोग्ने सिमित पाका उमेरका दर्शकको मन मुटु चलचित्रले छुनसक्ला । आधुनिक शहरिया दर्शकले यस्ता चलचित्र हेरेर मनोरञ्जन लिन्छन् भन्नेमा शंका छ ।
चलचित्रमा दृश्यभाषा पुरानै भए पनि निर्देशक अनिल बुढामगरले संवादभन्दा दृश्यको माध्यमबाट कथा भन्ने शैली पछ्याउन खोजेको देखिन्छ । चलचित्रभित्र नयाँपन छैन । पुरानै विधा(जनरा)लाई चलचित्रको पर्दामा लिपिबद्ध गरिएको छ । प्रभावकारी गीत संगीतको बाहुल्य छैन । द्वन्द्व, हास्य र रोमान्सलाई प्राथमिकता दिइएको छैन ।
दर्शकलाई समाज, संस्कृती र दुरदराजको परिवेस बुझाउन चलचित्र बनाइएको हो भने निर्देशकले बुझ्नुपर्छ कि दर्शक शिक्षा लिन चलचित्र हेर्न जाँदैन । दर्शकको चलचित्र हेर्नुको मुल उद्देश्य पुरापुर मनोरञ्जन लिनु नै हो ।
भूगोल, जातवर्ग र संस्कृतीको भावनामा बगेर बनाइएका चलचित्रले नेपाली चलचित्रको बजार उठाउन सक्दैन । प्रतिश्पर्धी बजार हलिउड,बलिउडका जस्ता चलचित्र बनाउन पक्कै नसकिएला । तर उनीहरुको दाँजोमा मौलिक कथाबस्तुसँगै प्रविधिको प्रयोग, दृश्यमा विविधता, कलात्मक प्रस्तुतीसँगै कलाकारहरुको खुबीलाई चलचित्रमा राम्रोसँग पस्कन सकिएन भने रंग उस्तै देखिएला तर हलुवामा बालुवा मिसिएर मुखमा हाल्नासाथ पत्ता लाग्छ ।
बजारमा एउटा चलचित्र चल्दैमा सधै उस्तै स्वाद पस्किने नेपाली निर्देशकहरुको मुख्याईले नेपाली दर्शक बिच्केको विर्सनु हुँदैन । चलचित्र घरज्वाईं नराम्रो चलचित्र बनेको छ पक्कै भन्न सकिन्न । भातै भात खाएका दर्शकलाई फेरि भातै पस्किएको छ । दर्शकले पिज्जा र बर्गर मन पराउछन् भन्ने पछिल्ला फरक विधा(जनरा)का चलचित्रले प्रमाणित गरिसकेका छन् ।
बलिउड र हलिउडका अत्याधुनिक प्रविधिमिश्रित चलचित्र हेर्ने बानी परेका युवा पुस्ताबीच हरेक चलचित्रमा सधै उस्तै उस्तै लाग्ने गाँउ घर पाखा पखेराका कथा व्यथा आशु र पिडा रुचिकर पक्कै लाग्दैन ।
सबल पक्ष
च्लचित्रभित्र धेरै कमजोरीकाबीच केही सवल पक्षको पनि चर्चा गर्नु जरुरी छ । चलचित्रमा पश्चिम नेपालका गाँउबस्ती, पहाडका लहर,उराठलाग्दा पाखापखेरा,हिमालर सुन्दर क्षितिजलाई सिनेमेट्रोग्राफर सुसन प्रजापतीले सजीव ढंगलले खिचेका छन् । झुरुप्प पारेर बनाइएका ढुंगाले छाएको पुराना घर, गाँउहरु हिडेको लामो लस्कर, फुङ्ग रंग उडेको पहाडको दृश्यलाई उनले आर्कशक ढंगले चलचित्रमा उतारेका छन् ।
कथाकार अनिल बुढामगरले एउटा विशुद्ध मौलिक कथालाई टपक्क टिपेर चलचित्रमा उतारेका छन् । पश्चिम नेपालको मगर संस्कृतीभित्र रहेको घर ज्वाई बसेर माइती(ससुराली) रिजाउने चलचित्रसँगै भेडीगोठ, गाँउ घरका खेतबारी,डोको बुन्नेजस्ता रैथाने जीवनशैलीलाई सजीव ढंगले चलचित्रमा समेटिएको छ ।
धेरै कमजोरीबीच चलचित्रले फरक स्वाद पस्कन सफल छ । फरक जीवन भोगाईका कथाव्यथा चलचित्रमा हेर्न बानी परेका दर्शकहरुका लागि यो चलचित्र उपयुक्त हुनसक्छ ।
दयाहाङ राई
उस्तै अनुहार, भावभंङी, बोल्नेशैली अनि लवाई खुवाईकाबीच अभिनेता दयाहाङ राई चलचित्रमा स्वर बुढामगरको पात्रलाई चलचित्र घरज्वाईमा अभिनय गरेका छन् । चलचित्रमा स्वर बुढामगरको पात्रलाई दयाहाङ भन्दा फरक देखाउन उनले सकेका छैनन् । चलचित्रमा सधैको दयाहाङको सदावहार पात्रको निरन्तरता छ । चलचित्रमा न त फरक पात्र बनाउन श्रृगार(मेकअप), अनिनय कौशल,पोशाक गहना बनाउन निर्देशक अनिल बुढामगरले जुक्ति लगाएका छन् । न दयाहाङले अक्कलको प्रयोग नै गरेका छन् । दर्शकले अभिनेता दयाहाङ भित्र नयाँ पात्र र फरक चरित्र भेट्दैनन् ।
मिरुना मगर
गाँउ घरमा बस्ने अनि छिप्पिएको उमेरमा पढ्न जाने अनि भलिबल खेलाडीको पात्र विञ्जुरीको भूमिकामा अभिनेत्री मिरुना मगर अरु चलचित्रको जस्तै दुरुस्तै चरित्रमा देखिएकी छिन् ।
अभिनय शैली बाहेक अभिनेत्री मिरुना मगरले चलचित्रमा थप मेहनत भने गरेको देखिन्छ । उनले भलिबल खेलेर र बन्दुक चलाएर चलचित्रमा फरक महिलाको चरित्रको परिचय खुलाउन सहायक भूमिका खेलेकी छिन् । उस्तै लवाई खुवाई, हास्ने र बोल्ने शैलीमा प्रस्तुत भएकी मिरुनाले विञ्जुरी पात्रलाई फरक बनाउन अभिनयमार्फत विशेष भूमिका भने खेलेको भान हुँदैन ।
शिरिर वाङदेन
चलचित्रकै शसक्त भुमिका नायक दयाको बाबु दयाबहादुरको भूमिकामा शिरिर वाङदेन जमेका छन् । पुरानै अभिनय शैली बोकर पनि वाङ्देनले चलचित्रलाई राम्रैसँग डोहो¥याएका छन् । उनको हठी र घमण्डी चरित्रले अभिनय क्षमतामा केही हदसम्म विविधता ल्याएको हो कि भन्ने ठाँउ दिएका छन् ।
बुद्धि तामाङ
चलचित्रमा कलाकार बुद्धि तामाङले चलचित्रका नायक दयाँहाङको साथीको भूमिका निभाएका छन् । उनले चलचित्रमा उल्येखनीय कला देखाएका छैनन् । धेरै चलचित्रमा ‘हैट’ थेगो बोकेका बुद्धिको बुद्धि पलाएर हुनसक्छ । यस चलचित्रमा उनले ‘हैट’ भन्न छोडेका छन् । चलचित्रमा उनले म्याउ भनेको सुन्दा भने मज्जा आउँछ ।
खवपु पुन
रियालिटी शो मार्फत कला क्षेत्रमा पाइला टेकेका खवपु पुन चलचित्रमा देखिएका छन् । जनयुद्धको लडाकुको भूमिकामा अभियन गरेका पुनको अभिनयमा कुनै नयाँपन छैन । सधै देखाएकै बोलीचली र हाउभाउ यस चलचित्रको संवाद बोल्ने बेलामा उनले खर्चेका छन् । सामान्य कलाकारको भन्दा माथि उठेको छैन उनको अभिनय शिल्प ।
चलचित्रमा कलाकारहरु राज थापा, पुष्कर गुरुङ, कविता आले, सुनिल मगर, सोनाम लामा र भोलाराज सापकोटा खपतका लागि सहायक पात्र खडा गरिए झैं लाग्छ ।
चलचित्र हेरिरहँदा असाध्यै बोरलाग्दो अनुभव हुँदैन । अब के होला भन्ने चासो पनि लाग्दैन । हेरौ न त पारामा दुई घण्टा ६ मिनेट गुज्रन्छ । चलचित्रको अन्त्य निर्देशक तथा कथालेखक अनिलले नाटकीय ढंगबाट गरेको दर्शकलाई चित्त नबुझ्न सक्छ । सुखद नै मान्नुपर्छ सिक्वेल बनाउने लोभमा चलचित्र निर्देशक अनिल बुढामगरले कथालाई अलपत्र छोडेका छैनन् ।
चलचित्रमा पात्र र चरित्रबीचको अन्र्तसंर्घष श्रृजना गरेर थप रोचक बनाउन लेखक तथा निर्देशक अनिल बुढामगर चुकेका छन् । चलचित्रका मुख्य पात्र स्वर बुढामगरलाई साली सम्झनाले मन पराए पनि यो पाटोलाई रोचक ढंगले देखाइएको छैन । न खलनायक पात्र चैतेसँगको अन्तरद्वन्द्वलाई रोचक नै बनाइएको छ । चलचित्रमा शिक्षकजस्तो सम्मानित पेशालाई हल्का र लाहुरेलाई इज्जतिलो पेशाको रुपमा प्रस्तुत गर्दा पत्याउन अप्ठ्यारो लाग्छ ।
चलचित्रले हसाँउदैन । रुवाउदैन । कौतुहलता जगाउँदैन । द्वन्द्वका दृश्य हेरेर मजा आउने ठाँउ छैन । गीत संगीतले तान्दैन । तर दर्शक निराश भएर छ्या भन्दै चलचित्र भवनबाट बाहिरिने अवस्था पनि छैन । चलचित्रको ट्रेलर हेरेर हलमा जाने दर्शक झुक्किनछन् । चलचित्र धेरै राम्रो छैन । अनि नराम्रो पनि । मनोरञ्जनको सवालमा चलचित्र घरज्वाई औसत चलचित्र हो भन्न सकिन्छ ।
प्रतिक्रिया