९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मोदीबेनी’ : नयाँ कलाकारका कारण कमजोर चलचित्र



ललितखबर
२१ साउन । मान्छे मरेर गएपछि के होला ? धर्मशास्त्रका अनुसार स्वर्ग र नर्कको बास हुन्छ । मान्छे मरेपछि भूत प्रेत बन्ने जनविश्वास पनि छ । भूत प्रेतका अनेकन् कथा किम्बदन्ती पनि सुनिन्छ ।
मान्छे मरेरपछि भूत प्रेतआत्माको विभिन्न हर्कत समेटिएको चलचित्र मोदीबेनी शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको छ । सामाजिक प्रेमकथा विधा(सोसल लभस्टोरी जनरा)मा निर्माण गरिएको चलचित्रको निर्देशन शंकर कोइरालाले गरेका छन् । उनको डेव्यु निर्देशन रहेको यस चलचित्रमा अमरप्रताप श्रेष्ठको डेव्यु अभिनय हेर्न पाइन्छ । चलचित्रमा सरोज खनाल,रेजिना उप्रेती देखि पछिल्लो पुस्ताकी अभिनेत्री बर्षा सिवाकोटीको अभिनय रहेको छ ।


सबल पक्ष
चलचित्र पुरानो कथ्यशैली दृश्यभाषा भए पनि केही नयाँपन दिन निर्देशक कोइरालाले मेहनत गरेका छन् । कथामा रुचिकर लाग्ने विभिन्न प्रसंग चलचित्रभित्र समेटिएको छ ।
चलचित्रले दर्शकलाई एक किसिमको डर पैदा गर्न सफल छ । अव के होला ? भन्ने उत्सुकता दर्शकमा चलचित्र हेरुञ्जेल जगाउन सफल छ । पुरानो पुस्ताले मनपराएका कलाकार सरोज खनाल र रेजिना उप्रेतीको उपस्थितीले चलचित्रलाई राम्रो बनाउन मद्दत पुगेको छ ।
चलचित्रको मध्यान्तरअघिसम्म रनभूल्लमा परेका दर्शक मध्यान्तरपछि फरक अनि रमाइलो अनुभव गर्न सक्छन् । कतिपय दृश्यहरु डरलाग्दा छन् । हेरुञ्जेल बोर लाग्दैन तर चलचित्र हलबाट बाहिरिएपछि के हेरे बुझ्नै कठीन हुनसक्छ । पर्वत पेरिफेरिको खाइच, भइच, रइचजस्ता भाषको संवादशैलीले चलचित्रलाई मौलिक र फरकपन दिन सहयोग गरेको छ ।


दुर्बल पक्ष
सुन्दरी अभिनेत्री बर्षा सिवाकोटी( पूर्णिमा)का अगाडि अभिनेता अमरप्रताप फिक्का फिक्का लाग्छन् । उनको लुक्समै समस्या छ । डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठ(अमर)लाई कास्ट गर्नु निर्देशक शंकर कोइरालाको निर्देशन क्षमताको केटाकेटीपन भन्दा फरक पर्दैन । पढ्दा नमिलो लाग्छ, तर सत्य कुरा उनी भाईको भूमिकामा राम्रो सुवाउने खाले देखिन्छन् ।
चलचित्रमा सबैभन्दा समस्या कथा र पटकथामा छ । कथा सलल बग्दैन । विषयबस्तु धेरै प्लट निर्माण गरिएको छ । जसका कारण चलचित्रले के देखाउन चाहेको भन्ने नै बुझिदैन । चलचित्र मोदीबेनी जमिनदारको कथाबाट सुरु भएर मायाँप्रेम अनि लासको हर्कतसम्म पुगेर टुंगेको छ । जसको छनक टिजर र ट्रेलरबाट बुझ्न सकिन्छ ।
नारावाजी, तमसुक जलाएको,लास झरेको अनि मायाँप्रेमको कथाको श्रृखला एक आपसमा बाँधिएको भेटिन्न । अप्रत्याश्रृत दृश्यले दर्शकलाई चलचित्रमा अब के होला भन्ने उत्सुकता भने जगाई राख्छ ।
चलचित्र तुलनात्मक रुपमा छोटो १ घण्टा ५६ मिनेट मात्रै छ । चलचित्रको कथा छिटो छिटो अघि बढ्छ । चलचित्र मोदीबेनीमा दृश्यले भन्दा पनि चर्को संवादमार्फत कथा भन्न खोजिएको छ ।
चलचित्रमा कतिपय बिझाउने दृश्य छन् । विद्यालयमा विद्यार्थीकै अगाडि रोमान्टिक जोडीको रोमान्स अनि धुरी चढेर गीत गाइरहेको दृश्य हाँसो लाग्दो छ । अभिनेत्री रेजिना उप्रेतीको सेतो कपाल तर मेकअप गरेर १६ बर्षे युवती झैं कलिलो अनि चिटिक्क बनाएर अभिनय गरेको दृश्य वास्तविकता भन्दा ज्यादा नाटकीय लाग्छ ।
चलचित्रको गीतको लोकेशनमै समस्या छ । झार नै झारको बीचमा बनपाखामा अभिनेत्री बर्षा र अमरप्रतापलाई नाच्न लगाइएको छ । रोमान्टिक गीतमा रमाइलो दृश्यावलोकन गएको ठाँउमा छायाँकन गरिएको छैन ।
चलचित्रको प्राविधिक पक्ष पनि सवल छ भन्न सकिने अवस्था छैन । सिनेमेट्रोग्राफी खासै राम्रो छैन । कतिपय दृश्य सामान्य भिडियोग्राफरले खिचेर चलचित्र बनाएको जस्तो भान हुन्छ । व्याकराउण्ड स्कोर र विजिएम पनि गतिलो छैन ।
चलचित्रको ट्रेलर हेरेपछि जुन अपेक्षा दर्शकले गरेका थिए त्यो भेट्न मुस्किल छ । द्वन्द्व,हास्य र गीतसंगीत विधामा चलचित्र कमजोर देखिन्छ । प्रविधिको प्रयोग पनि उत्तिसारो छैन । थोरै बजेटमा किफायती कलाकार लिएर निर्देशकले औसत चलचित्र मोदीबेनी निर्माण गरेका छन् ।


बर्षा सिवाकोटी
अभिनेत्री बर्षाले आफ्नो अभिनयमा खोट देखाउने ठाँउ राखेकी छैनन् । डेव्यु निर्देशकको पर्याप्त कमाण्ड नपाएर हुनसक्छ उनले चलचित्रमा चरित्र, अभिनय क्षमता र नयाँ प्रयोगका दृष्टिकोणबाट कुनै बबाल काम भने देख्न पाइन्न । अभिनेत्री बर्षाले नयाँ निर्देशक र अभिनेतासँग चलचित्रमा काम गरेर आफूलाई निखार्ने अवसर गुमाएकी छिन् । चलचित्रभित्र नयाँ काम गर्ने अवसर गुमाएकी छिन् । यद्यपी उनले चलचित्रको अन्तमा खलनायकहरुसँगको द्वन्द्वको दृश्य होस या अघिल्ला दृश्यहरुमा अभिनयकलामार्फत आफूलाई प्रमाणित गर्ने प्रयास गरेकी छिन् ।


अमरप्रताप श्रेष्ठ
डेव्यु अभिनेता अमरप्रताप श्रेष्ठ अभिनेत्री बर्षाका अगाडि फिक्का फिक्का देखिएका छन् । छिप्पिएकी हिरोयनसँग कलिलो उमेरका अमरप्रताप नाचेको सुवाएको छैन । उनको संवादशैलीमा समस्या छ । उनले अप्ठेयारोसँग संवाद बोलिहरको चलचित्र हेर्दा अनुभव हुन्छ । बर्षासँग उनको केमेष्ट्रि मिलेको छैन । भाईको भूमिकामा सुवाउने युवकलाई हिरोनसँग रोमान्सको पात्र बनाएको अनुभव हुन्छ ।
नयाँ कलाकार भएपनि अमरले कर,बल र छल गरेर अभिनय गरेका छन् । उनी चलचित्रमा अभिनेत्री बर्षा जत्तिको पनि रोमान्टिक देखिदैनन् ।


रेजिना उप्रेती
कुनै समय चलचित्रमा अभिनेत्रीको मुख्य भूमिका अभिनय गरिरहेकी कलाकार रेजिना उप्रेती यस चलचित्रमा सहायक पात्रमा खुम्चेर कमव्याक भएकी छिन् । चलचित्रमा आमा पात्रको अभिनयसँगै जवानी कालको केही दृश्य छन् । रोनाधोनासँगै नाचगानमा समेत देखिएकी रेजिनाको भूमिका चलचित्रमा सन्तोषजनक नै छ भन्नुपर्छ । तर कलिलो शरिरमा बुढ्यौली देखाउन त्यही अनुसार मेकअप गरिएको छैन ।
सरोज खनाल
नेपाली चलचित्रका सदावहार नायक सरोज खनाल एक बृद्ध जिम्वाल पात्रको अभिनय हेर्न पाइन्छ । उनी चरित्र अभिनयको हिसावले अव्वल देखिएका छन् । छोटो भूमिकामा उनको यो फरक चरित्रले चलचित्रलाई राम्रो बनाउन सघाएको छ ।


प्रविण खतिवडा
बुधे नामबाट चिनिने खलपात्रमा कलकार प्रविण खतिवडालाई देख्न सकिन्छ । गाँउले आभारा युवा जमातका नाइकेका रुपमा उनको भूमिका देखिन्छ । तर उनले फरक चरित्र भने चलचित्रमा देखाएका छैनन् । उनको अभिनय शैली र चरित्र अरु चलचित्र जस्तै लाग्छ ।
चलचित्रमा कमलमणी नेपाल, सुब्रत आचार्यलगायत कलाकारहरुको औसत अभिनय देख्न सकिन्छ ।
निश्कर्ष
चलचित्र मोदीबेनी नेपाली रजतपटमा अर्को चलचित्रको संख्या थपिएको छ । चलचित्रलाई प्रयोगात्मक हिसावले नयाँ भन्न सकिन्न । निर्देशक कोइराला र अभिनेता श्रेष्ठको दमदार उपस्थिती पनि देखिएन । मौलिकपन, दृश्यभाषा,प्रविधि,कलात्मक क्षमता र प्रयोगात्मकजस्ता दृष्टिकोणबाट चलचित्र कमजोर छ । चलचित्र भवनमा बसेर केही मनोरञ्जन त प्राप्त गर्न सकिएला तर दर्शकले खोजेको धेरै कुरा चलचित्रले दिन सकेको छैन । मोदीबेनीलाई औसत मनोरञ्जन दिने मध्यम श्रेणीको चलचित्र हो भन्न सकिन्छ ।

चलचित्र मुल मियो निर्देशकलाई लिइन्छ । निर्देशकले रोजेको कथा र चलचचित्रको पात्रमा निर्माताले करोडौं लगानी गरेका हुन्छन् । जव निर्देशकले गतिलो कथा र पात्रहरुलाई राम्रोसँग पर्दामा प्रस्तुत गर्न सक्दैनन्, चलचित्र हलुवामा बालुवा झैं बन्छ । हेर्दा उस्तै देखिन्छ । खाँदा स्वास्थ्य विगिन्छ । चलचित्र मोदीबेनीमा निर्देशक शंकर कोइराला र अभिनेता अमरप्रताप श्रेष्ठको राम्रो प्रस्तुतीको अभावका कारण उत्कृष्ट बन्न चुकेको छ ।
हुन त कतिपय राम्रा चलचित्र हलमा नचल्न पनि सक्छन् । समिक्षकले धेरै आलोचना गरेका चलचित्रमा दर्शक खचाखच पनि हुने गरेका छन् । चलचित्र दर्शकको मनोदशा, देश, काल, परिस्थिती, समाजको अवस्था र स्तर अनुसार चल्न सक्छ नचल्न पनि सक्छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ६ : २९ बजे