ललितपुर
९ साउन । पछिल्लो शुक्रबारदेखि चलचित्र सतीदेबी प्रर्दशन सुरु भएको छ । पत्रकार लक्ष्मण सुवेदीको निर्देशन र निर्माण भएको चलचित्र एउटा परिवारमा छोरो नजन्मदा आइपरेको आपतविपतलाई मुल कथा बनाइएको छ ।
पछिल्लो समय डकुमेन्ट्रीमा आधार बनाएर निर्माण गरिएका चलचित्र निर्माण भइरहेको छ । लम्जुङको एक गाँउले परिवेसमा छायांकन गरिएको चलचित्र सतीदेबी सामाजिक परिवेशमा डकुड्रामामा आधारित भएर निर्माण गरिएको छ ।
दुर्बल पक्ष
चलचित्रको समस्या कथा पटकथा र संवादबाट सुरु हुन्छ । प्रस्तुती र मनोरञ्जनको दृष्टिकोणबाट चलचित्रमा थुप्रै कमजोरी भेटिन्छ । चलचित्रमा दुखद परिस्थिती रुदै देखाउने होइन, रुने परिस्थिती श्रृजना गर्नु पथ्र्यो जुन निर्देशक सुवेदीले प्रयास गरे पनि असफल देखिन्छ ।
पछिल्लो पुस्ताले भोगेका महिला हिंसा, बलत्कार अनि सम्बन्ध विच्छेदजस्ता विविध समस्याबाट गुज्रेको सन्दर्भमा दशकौं अघि हेर्दै आएको कथा चलचित्रमार्फत देखाएको छ ।
चलचित्रमा पुरानै कथा नेपाली समाजले दशकौं अघिदेखि काँचको पर्दामा हेरिसकेको छोरा र छोरीकोबीचको भेदभावमा आधारित छ । २०४७ सालको संविधान र त्यसपछि बनेका ऐनका साथै २०७२ सालको संविधानसभाले बनाएको संविधान र ऐन कानूनले महिलालाई थुप्रै अधिकार दिइसकेको परिप्रेक्षमा छोरा र छोरीबीचको विभेदमा आधारित चलचित्र निर्माण गरिएको छ । यो समस्यालाई थुप्रै एनजिओ र आएनजिओले लामो समयसम्म लगानी गरेर निराकरण गर्ने कोसिस गरेका छन् ।
कौडा खेल्ने अनि जड्याहा वावु, सामन्ती साहु, दुखजिलो गर्ने श्रीमती र विचरा पात्र वच्चा बच्ची चलचित्रको पात्र र कथा पुरानै ढर्राको छ । नयाँपन खोज्ने दर्शकले चलचित्रमा नयाँ भेट्याउनै मुस्किल छ । जुन अघिल्लो पुस्ताले लामो समयसम्म हेरेर हुर्केको हो ।
चलचित्रमा चार वटी छोरी जन्मेर पनि छोरा नजन्मेको कथा बुनिएको छ । आर्थिक सामाजिक विविध समस्याका कारण एक दुई सन्तान जन्माउने परिपाटी रहेको अहिलेको समाजमा चलचित्र सान्दर्भिक छैन । यद्यपी समाजमा छोरा र छोरीबीच असमानता र विभेद पक्कै छ । चलचित्र हिजोमा सन्दर्भमा भनिएको छ । आजको बदलिएको परिवेसमा कथा बुनिएको छैन ।
चलचित्रका लेखक समेत रहेका सुवेदीले वालमनोविज्ञानलाई देखाउने कोसिस गरेका छन् । यद्यपी वालमनोविज्ञानभित्रको पिडालाई छिचोलेर पर्दामा देखाउन सकेका छैनन् । कतिपय दृश्यमा मन कटक्क खान्छ । तर भक्कानो फुट्दैन । कथा सन्दर्भ र परिस्थिती हेर्ने हो भने निर्देशक तथा कथाकार सुवेदीले धेरै संवेदनशील क्षणहरु श्रृजना गर्न सक्थे ।
चलचित्रमा संवाद हावी छ । यस्ता कथामा दृश्यमार्फत धेरै कुरा भन्न सकिने सम्भावनालाई नजरअन्दाज गरेको भान हुन्छ । संवादसँगै दृश्यहरु पनि छिटो छिटो अघि बढेको छ । जसका कारण कथाको संवेदनशीलता कमजोर बनेको छ । चलचित्रमा निर्देशकले कथालाई छिटो छिटो दौडाएका छन् । जस्तै चलचित्रमा विरामी छोरीलाई उपचार गर्न लैजाँदा आक्रमण हुन्छ । अनि दुबै दृश्यपछि देखाइदैन । वावु विरामी भएर अस्पताल शहर नै लगिन्छ । गाँउघरमा उपचार गरिन्छ । यस्ता धेरै दृश्य छन् जसले कथासँग साक्षत्कार भइरहन र अडिन मन लाग्दैन ।
चलचित्रमा सुवेदीले प्रेमकथा मिसाउने कोसिस गरेका छन् । तर चलचित्रमा रोनाधोनासँगै प्रेमकथा हराउछ । पात्र नै अलपत्र पर्छ । चलचित्रमा सन्दिपवावु लोहनी(भुवन केसी)सँगै मलिकाको केमेष्ट्रिी मिलेको छैन । चलचित्रमा गीतमार्फत रोमान्सका दृश्य दिक्कलाग्लो अनुभव हुन्छ ।
चलचित्र छायाँकनको क्रममा ठाँउ ठाँउमा एङगल मुभमेन्टमा समस्या छ । व्याकराउण्ड म्युजिक(विजिएम) कतिपय ठाँउमा कर्कसलाग्दो सुनिन्छ । दृश्यको रंग संयोजन उत्कृष्ट छैन । चलचित्रमा दर्शक हसाँउने मसला छैन । गीतसंंगीतले चलचित्रको मिठास भरेको पाइन्न ।
सवल पक्ष
निर्देशक सुवेदीले सामाजिक कथालाई चलचित्रको पर्दामा ल्याउने आँट गरेको छन् । चलचित्रमा पछिल्लो पुस्तामा देखिएको बिकृती प्रेमी बनाउन अनि धोका दिने मनोविज्ञानसँगै मोवाइल र यौन पुस्तकको प्रभावलाई चलचित्रमार्फत देखाउनु सकारात्मक पक्ष हो ।
रमेश बुढाथोकी(कौडे काजी)
चलचित्रमा पुराना कलाकार रमेश बुढाथोकी खलपात्रको रुपमा अभिनय गरेका छन् । कौडे काजीको चरित्रमा रहेका रमेश बुढाथोकी पुरानो चलचित्रको झल्को दिने सामन्ती प्रबृत्तिलाई उजागर गरेका छन् ।
चलचित्रमा उनले बोल्ने संवाद ‘आमा छोरीको अैचोपैचो,बाउृ छोरोको लेनदेन’ धेरै ठाँउमा बातै पिच्छे प्रयोग गर्दा झर्को लाग्छ । उनको अभिनयशैली पुरानो भए पनि चरित्रका कारण रोचक छ ।
मलिका महत सतिदेवि अधिकारी)
अभिनेत्री मलिका महतले कथालाई डोहो¥याएकी छिन् । उनको मुख्य भूमिका बलियो भएपनि दमदार भने छैन । आलोकाँचो उमेरमै घरको समस्या बोकेर हिड्ने वालिकाको पत्रामा उनी उर्पयुक्त पात्र लाग्छिन् ।
निर्देशकले उनको अभिनय क्षमता अनुसार मेहनत गराएका छैनन । नाटक पगला घोडाको उनको अभिनयको तारिफ भए अनुसार मलिका अव्वल स्तरकी अभिनेत्री हुन् । तर चलचित्रमा उनको अभिनय फिक्का लाग्छ ।
सन्दिपवावु लोहनी(भुवन केसी)
च्लचित्रको नायक पात्रमा सन्दिपवावु लोहनी देखिएका छन् । निर्देशक तथा लोहनीले उनलाई चकलेटी हिरोको रुपमा चलचित्रमा देखाउने कोशिस गरे पनि निरर्थक देखिन्छ । चलचित्रमा भुवनकेसी पात्र बीचमा आउछन् । अनि जान्छन् ।
चलचित्रमा सन्दिपको भूमिका पनि टिठलाग्दो छ । उनी अभिनयमा डुवेको देखिन्न र अभिनेत्रीसँग केमेष्ट्रि पनि मिलेको छैन ।
हर्षिका वली
वाल चरित्रमा हर्षिका वलीको भूमिका र अभिनय राम्रो छ । उनको संवादशैली अभिनय हेर्नलायक छ । ठाँउठाँउमा मन दुख्ने संवाद बोलेकी छिन् । चलचित्रमा उनको चरित्र बलियो छ । अभिनय क्षमता र प्राकृतिक हाउभाउले चलचित्रको चरित्रमा उनले न्याय गरेकी छिन् । यद्यपी निर्देशकले संवाद भूमिका र संवेदनालाई अझ तिखारेर हर्षिकाबाट राम्रो अभिनय निकाल्न सक्ने सम्भावना देखिन्छ ।
कुल बहादुर अधिकारी(कुले)
चलचित्रमा कुल बहादुर अधिकारी(कुले)को अनिनय प्राकृतिक लाग्छ । उनले चलचित्रमा सशक्त भूमिका निभाएका छन् । कथाको सार भन्न कुलबहादुर उपयुक्त पात्र हुन् भन्ने चलचित्र हेर्ने क्रममा अनुभव गर्न सकिन्छ ।
निश्कर्ष
चलचित्रको प्रस्थानविन्दु विषयबस्तु छनौट, प्रस्तुती समय र सान्दर्भिकताजस्ता कुरामा तयारी कमी भएर हुनसक्छ चलचित्र औसतभन्दा माथि निर्माण भएको छैन । चलचित्र अव्वल छायाँकन,प्रस्तुती र प्रविधिमा मिठास थप्दै चलचित्रलाई विट मार्न सुवेदीले थप कोसिस गर्न सक्ने ठाँउ देखिन्छ । चलचित्रमा पात्रहरुको चरित्र निर्माणका लागि हतार गरेको भान हुन्छ ।
प्रतिक्रिया