५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी अन्तरविद्यालय सेभेन ए साइड फुटबलः अमरकान्ति र सांग्रिला क्वार्टरफाइनलमा



ललितपुर । लेलेको अमरकान्ति माध्यमिक विद्यालय, बाँडेगाउँको बुद्ध मावि र चापागाउँको साँग्रीला इन्टरनेशनल स्कुल दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ढोलाहिटीस्थित विनायक स्पोर्ट्स कम्प्लेक्समा मंगलवार शुरु भएको प्रतियोगितामा समूह सी बाट २ खेल जित्दै अमरकान्तिले अन्तिम ८ मा स्थान बनायो।
अमरकान्तिले बज्र एकेडेमीलाई २–० ले र बालअंकुरलाई २–१ ले पाखा लगायो।

यो समूहको बज्र एकेडेमी दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ। मंगलवारको अन्तिम खेलमा रिदभान स्कुल र बालअंकुर माविले २–२ गोलको बराबरी खेल्दै क्वार्टरफाइनलको संभावना कायमै राखेका छन्।

समूह डी बाट बुद्ध मावि बाँडेगाउँले गंगा जमुना स्कुल लेलेलाई १–० ले तथा भीमसेन स्कुल देवीचौरलाई २–१ ले हराएको छ। बुद्ध मावि गत संस्करणको विजेता टोली हो। यो समूहबाट लिटिल स्टार लगातार २ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ भने भीमसेन र गंगा जमुनामध्ये एउटा स्कुल अर्को चरणमा पुग्नेछन्। ५ वटा विद्यालय रहेको समूह बी बाट साँग्रिला स्कुलले लगातार दुई खेल जित्दै अन्तिम ८ मा पुगेको छ।

साँग्रिलाले टीकाभैरवको बुद्ध माविलाई ४–१ ले तथा लेलेको सरस्वती माविलाई ३–० ले हराएको छ। सांग्रिलाका सविन चेपाङले प्रतियोगितामा ४ गोल गरिसकेका छन्। यो समूहमा वशिष्ठ माविले नेवा स्कुललाई २–१ ले हराउँदा बुद्ध माविले वशिष्ठलाई हराएको छ। यसैगरी नेवा स्कुल र सरस्वती स्कुलले ३–३ खेलको बराबरी खेलेका छन्।

समूह ए बाट एभरेष्ट इंगलिस स्कुलले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ। एभरेष्टले इन्द्रेणी स्कुल र सूर्य शिक्षा सदनलाई हराएको हो। इन्द्रेणीले भने टीकाभैरव बोर्डिङ स्कुलसँग बराबरी खेल्दा टीकाभैरवले सूर्य शिक्षालाई १–० ले निराश पारिदिएको छ। दुवै खेल हार्दै सूर्य शिक्षा सदन प्रतियोगिताबाट बाहिरिएको छ। इन्द्रेणी र टीकाभैरवमध्ये एउटा स्कुलको अर्को चरणमा जाने संभावना कायमै छ।

नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिल्वालले गरे। लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष २ टोली क्वार्टरफाइनलमा प्रवेश गर्ने ज्ञानकुण्ड युवा क्लबका कार्यवाहक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताए। उनका अनुसार बुधवार समूह चरणका बाँकी खेल र क्वार्टरफाइनलका खेलहरु हुनेछन्।

प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप-विजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले जनही ५ हजार पाउनेछन्।प्रतियोगिताको उद्घाटनमा उत्कृष्ट मार्चपास गर्ने टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक श्रेष्ठले बताए।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।