३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रेलेखोलाको छ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो



बेनी
छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो ।

आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युत्गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिएको हो । विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युत्गृहमा टर्वाइनलगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

“आयोजनाबाट उत्पादित विद्युत् करिब २० दिनका लागि परीक्षणको रूपमा रहने छ, परीक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुन्छ”, आयोजना प्रमुख काफ्लेले भने । विसं २०७७ देखि नै नारच्याङको बेँसीगाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो ।

यस आयोजनाले नारच्याङको बेँसीगाउँबाट लेकगाउँ हुँदै बाँध र विद्युत्गृह निर्माणस्थलसम्म १३ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई सडक यातायातको सुविधा पुगेको छ । एक वर्षअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि गत वर्षको बाढीले बाँध र इन्टेकमा क्षति पुर्याएपछि आयोजनाबाट ढिला गरी विद्युत् उत्पादन भएको हो ।

रु एक अर्ब ३५ करोड वित्तीय व्यवस्थापन गरेर निर्माण भएको यस आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

यस आयोजना बनाउन सिभिलतर्फ साकुरा पावर कन्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इञ्जिनियरिङ सर्भिसेस प्रालि र इलेक्टोमेकानिकलतर्फ फेलोभेल इनर्जी प्रालि इन्डियाले ठेक्का लिएका थिए । अक्करे भिर पहाडलाई छिचोलेर पहुँचमार्ग बनाउनुपरेको र बाढीपहिरोलगायत प्राकृतिक विपत्तिको सामाना गर्दै आयोजनाले निर्माण सकेर विद्युत् उत्पादन सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताएका छन् । नारच्याङमा यसअघि एक सय १० मेगावाट क्षमताको नीलगिरि एक र निलगिरि क्यासेट, पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ ।

 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।