काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सेलेङ्गोर टर्फ क्लबमा भएको समूह चरणको तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रनको विशाल योगफल बनायो। नेपालका लागि ओपनर प्रसिद्ध जैसीले १३२ रनको शतकीय इनिङ खेले। यस्तै, रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१, जोय थापाले ५७, सुगम बुढाथोकीले अविजित ३९ र रोशन शाहीले अविजित १० रन जोडे।
इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले २ विकेट लिए भने कविन निरज चड्डा, महेन्द्र अजी युदा प्रतामा, र रेहान रिजा अथैलाले समान १–१ विकेट लिएका थिए।
४२१ रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया २४.३ ओभरमा ५० रनमै समेटियो। उनका लागि कविन निरज चड्डाले १५ र दिभित नन्दाले १४ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले घातक बलिङ गर्दै ६ विकेट लिए। सुगम बुढाथोकी र सुभम खनालले समान १–१ विकेट लिए।
जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो। यसअघि नेपालले सिंगापुरलाई ५ विकेट र जापानलाई ९ विकेटले पराजित गरेको थियो।
इन्डोनेसिया भने २ अंकसहित समूह चरणबाटै बाहिरिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानविरुद्ध खेल्नेछ।
प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाल अहिले बलियो दाबेदारका रूपमा उपाधि रक्षा अभियानमा अगाडि बढिरहेको छ।
प्रतिक्रिया