काठमाडौं । एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। उज्वेकिस्तानको तास्केन्तस्थित बुन्योदकोर स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्दा अन्य पाँच खेलाडीले पनि गोल गरे।
नेपालले खेलको सुरुवातदेखि नै दबदबा जमायो। सातौं मिनेटमा गीता रानाले गोल गर्दै अग्रता दिलाइन्। त्यसपछि २० औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता दोब्बर बनाइन्। सावित्राले ४१ औं र पहिलो हाफको इन्जुरी समयमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्। पहिलो हाफ सकिँदा नेपाल ४–० को स्पष्ट अग्रतामा थियो।
दोस्रो हाफमा पनि नेपालले आक्रमण जारी राख्यो। ५४ औं मिनेटमा गीता रानाले पेनाल्टीमार्फत दोस्रो गोल गरिन्। ६१ औं मिनेटमा निशा थोकरले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरिन्। त्यसपछि ७८ औं मिनेटमा रेखा पौडेल र खेलको अन्त्यतिर पूजा रानाले गोल गर्दै स्कोर ८–० बनाए।
नेपालले यसअघि लाओसमाथि ९–० को जित निकालेको थियो। दुई खेलमा १७ गोल गर्दै कुनै गोल नखाई नेपाल शीर्ष स्थानमा रहेको छ। श्रीलंकाले यसअघि आयोजक उज्वेकिस्तानसँग १०–० को हार व्यहोरेको थियो। लगातार दुई हारपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।
फिफा वरीयतामा नेपाल १००औं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ। अब नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग भिड्नेछ। सो खेल नै एएफसी महिला एसियन कप २०२६ को छनोटका लागि निर्णायक हुनेछ।
प्रतिक्रिया