काठमाडौं । नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार क्वालालम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा सम्पन्न सेमिफाइनल खेलमा घरेलु टोली मलेसियामाथि ९ विकेटको सहज जित निकाल्दै नेपालले उपाधिनजिकको यात्रा तय गरेको हो।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४३.१ ओभरमा ९० रनमै समेट्यो। जवाफमा नेपालले ११.४ ओभरमा मात्र १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
नेपालका ओपनर परिमार्जन यादवले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा अविजित ५९ रन जोडे। उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए। सीवान्श बजगाईंले पनि राम्रो साथ दिँदै २३ रन बनाए।
मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए। तर, अन्य ब्याटरले खास योगदान दिन सकेनन्।
नेपालका लागि अभय यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। शुभम खनालले ३ विकेट झारे भने कप्तान विपिन शर्मा र सचिन भट्टले समान १–१ विकेट लिए।
अब नेपालले असार २१ गते (शनिबार) फाइनल खेल्नेछ। फाइनलको प्रतिद्वन्द्वी हङकङ र सिंगापुरबीचको दोस्रो सेमिफाइनलको विजेता हुनेछ।
प्रतिक्रिया