काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको बृद्धि भएको छ । आइतबार ६९.८० अंकले बढ्दै नेप्से २७२७.५८ को बिन्दुमा उक्लिएको छ । उच्च अंकले नेप्से बढ्दै गर्दा सबै समूहको सूचक बढ्यो । सबैभन्दा धेरै लघुवित्तको सूचक ४.९२ प्रतिशतले उचालिँदा औसतमै २.६२ प्रतिशतले सूचकहरु बढ्यो ।
कारोबारमा आएका ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो भने अधिकांशको मूल्य उच्च अंकको बृद्धि भयो । २०२ कम्पनीको मूल्य बढ्दा यसदिन ३७ कम्पनीको मूल्यमा सामान्य करेक्सन आयो भने ३ को स्थिर रह्यो ।
आज कारोबार रकमका आधारमा नेपाल इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास, हिमालयन पावर, हिमालयन रि इन्स्यारेन्सलगायत शीर्ष स्थानमा रहे ।
आज २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको भयो । आइतबार सूचक र कारोबार रकममा भएको उत्साहपूर्ण बृद्धि केही महिनायताकै उच्च हो । जसले बजारमा उत्साहको संकेत गरेको छ ।
विशेषगरी केन्द्रीय बैंक मौद्रिक समीक्षाको तयारीमा जुटिरहेको बखत नयाँ गभर्नरको चर्चा पनि बजारमा परेको देखिन्छ । सँगै, अध्यादेशमार्फत सरकारले कानुनहरु संशोधन गर्दै गर्दा लगानीकर्ता उत्साहित देखिन्छन् ।
आइतबारको कारोबारको तहले बजारले साइडवेजलाई ब्रेक गरेको संकेत गर्दछ ।








प्रतिक्रिया