पाल्पा । विद्यालय जाने उमेरका बालक पवन कुमाल जीवनका रङ खोज्दै छन्—एक फलामे खोरभित्र। पाल्पाको रामपुर नगरपालिका–६, तिलकपुर निवासी ११ वर्षीय पवन करिब डेढ वर्षदेखि सडक छेउको रूखनजिकै बनाइएको फलामे खोरभित्र बस्न बाध्य छन्।
शारीरिक र मानसिक रूपमा अशक्त पवन नबोल्न सक्ने, राम्ररी हिँडडुल गर्न नसक्ने अवस्थाका छन्। अवस्था बिग्रिएपछि सडकतिर लथालिङ्ग हिँड्न थालेपछि सुरक्षा गर्न सकिने अवस्था नरहेकाले आमा पुर्नामाया कुमालले फलामको खोरमै थुनेर राख्न बाध्य भएको बताउँछिन्।
“आफ्नै सन्तानलाई फलामे खोरमा राख्नुपर्छ भन्ने रहर कसैको हुँदैन,” पुर्नामायाले भनिन्, “घरायसी काम गर्दा आँखाबाट ओझेल परे दुर्घटना हुने डरले खोर बनाउनु परेको हो।” पवनले आफ्नो उमेरका अरू बच्चाजस्तै विद्यालय जान, साथीहरूसँग रमाउन कहिल्यै पाएनन्। बोल्न नसक्ने उनी हातले इशारा गर्दै कोही देखिए मुस्कुराउँदै बोलाउन खोज्छन्। बाटो हिँड्ने बटुवासँग आँखा जुध्दा उनको अनुहारमा छुट्टै उत्साह देखिन्छ।
गर्मी, हावाहुरी र वर्षामा सहज नहुने गरी बनाइएको फलामे खोरमाथि जस्तापाताले ओत लाग्ने व्यवस्था गरिएको छ, तर त्यो पनि कमजोर संरचना भएकाले डर भइरहन्छ।
पवनका बुबा विगत आठ वर्षदेखि वैदेशिक रोजगारीमा छन्। आमा पुर्नामाया गाउँमै छिमेकीको खेतबारी गरेर जीवन धानिरहेकी छन्। पवनलाई एक वर्षको हुँदा खुट्टाको उपचारका लागि बनेपा र पछि मुटुको समस्या देखिएपछि रामपुर नगरपालिकाको सहयोगमा गंगालाल अस्पतालमा शल्यक्रिया गराइएको थियो। तर, मस्तिष्कको शल्यक्रिया गर्न भने आर्थिक अभावले नसकिएको परिवारको दुखेसो छ।
एकैपटक जन्मिएका जुम्ल्याहा छोरामध्ये कान्छो पविन अहिले कक्षा ६ मा पढ्छन् भने पवनको जीवन फलामे खोरभित्र सीमित छ।
पवनको उपचारका लागि थप सहयोगको आवश्यकता रहेको परिवारले बताएको छ। आर्थिक सहायताबाट छोराको मस्तिष्क शल्यक्रिया गराउन सकियो भने पवनको जीवनमा केही उज्यालो आउने आशा गरिएको छ।








प्रतिक्रिया