२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रौतहट बम विस्फोटमा घाइते गौरीशंकर भन्छन्‘म अझै बाँचिरहेको छु, तर न्याय मर्‍यो’



काठमाडौं । संविधानसभा निर्वाचनको अघिल्लो दिन, २०६४ साल चैत २७ गते, रौतहटको राजपुर फरहदवास्थित एउटा इँटाभट्टामा भएको बम विस्फोट अझै पनि पीडितहरूका घाउ झनै ताजा छन्। त्यसै घटनाका जिउँदो साक्षी हुन् भारत बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार, जसले अहिले पनि आफ्नो शरीरमा त्यस घटनाका गहिरा निसान बोकेका छन्।

गौरीशंकरका अनुसार भोटअघि पैसा लिन अफ्ताब आलमको इँटाभट्टामा गएका बेला बम विस्फोट भयो, जसमा उनी गम्भीर घाइते भए। ‘बमले मेरो दुवै कान उडायो, अनुहार, घाँटी र छाती जलायो,’ उनी भन्छन्, ‘पानी हालेर भागें, तर त्यो क्षण मेरो जीवनकै सबैभन्दा डरलाग्दो पल थियो।’

अदालतको फैसला, पीडितको पीडा

उक्त घटनामा नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलममाथि बम बनाउने र घाइतेलाई जिउँदै जलाएको आरोप लागेको थियो। तर, उच्च अदालत वीरगन्ज इजलासले पर्याप्त प्रमाण नभएको भन्दै उनलाई सफाइ दिएको छ।

तर गौरीशंकर भन्छन्, ‘त्यहाँ बम पड्किएको थियो, मैले आफैंले अनुभूति गरेँ, म अझै बाँचिरहेको छु – शरीरमा नदेखिने घाउसहित।’ उनले अदालतको फैसलाप्रति आक्रोश पोख्दै भने, ‘मलाई अन्याय भएको छ, पीडितलाई बेवास्ता गरियो।’
‘अफ्ताबले कहिल्यै सोधेन, एक रुपैयाँ पनि दिएन’

तीन महिनासम्म भारतमा उपचार गराएका गौरीशंकरको परिवारले साढे ३ लाख भारतीय रुपैयाँ खर्च गर्नु प¥यो। तर उनी भन्छन्,‘अफ्ताबले कहिल्यै सोधेन, एक पैसा पनि दिएन, उल्टै धम्की आयो – छोरा तेरो बाँच्छ जस्तो छैन।’

उनले थपे, ‘अहिले पनि म पीडामा छु, काम गर्न सक्दिनँ, डरले बाँचिरहेको छु। मलाई आज पनि लाग्छ, ऊ मलाई मार्न सक्छ।’
सरकारसँग अपिल गर्दै गौरीशंकर भने, ‘त्यस्तो मान्छेलाई छोड्नु हुँदैन, कडाभन्दा कडा सजाय दिनुपर्छ। हामीजस्ता गरीबले कानुन पाउँदैनौं भने कसरी बाँच्ने?’

उनको भनाइका सम्पादित अंशः
म रौतहटको राजा इँटाभट्टामा काम गर्दै थिए । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीन जना थियौं । मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाउ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा । आँखा खुलेपछि मैले आमालाई सोधे- कहाँ हो यो ? आमाले भन्नुभयो- यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु । केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई ।

त्यसपछि मेरो आँखा फेरि बन्द भयो । मेरो इलाज (उपचार) तीन महिनाजति भयो । मलाई साढे ३ लाख आईसी .(भारतीय रुपैयाँ) खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन- मान्छे कस्तो छ, के छ ? एक रुपैया पनि दिएन । सोधेको पनि छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो ।

निर्वाचनको एक दिन पहिला बेलुकातिर बम बिष्फोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने ।

त्यहाँ बम बिष्फोट भएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरु मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन । इलेक्सनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विष्फोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमा भएको छ ।

सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो । म घरमा नहुँदाखेरी त्यसको आद्मी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब । तिम्रो छोरा दुई-चार साल बितेपछि बाँच्दैन । अफ्ताब आलमको मान्छे गएर भनेको छ । मलाइ धम्की दिएको छ ।

अफ्ताब आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ । (रुदैँ) कसरी बाँचौं म यो दुनियाँमा ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।