२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान भर्दै नेपाल एअरलाइन्स, दक्षिण कोरिया र अष्ट्रेलियामा उडान तयारी सुरु



काठमाडौँ
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ ।
निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपश्चात प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको निगमले जनाएको छ ।

अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको यस महत्त्वपूर्ण सहरमा उडान सेवा विस्तार गर्न सफल भएको बताएका छन् । निगमले निकट भविष्यमै काठमाडौँबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

काठमाडौँ–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ । नेपालीको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ ।

नौ देशका ११ गन्तव्यमा उडान

नेपाली ध्वजावाहक वायुसेवा निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ ।
हाल नेपाल वायुसेवा निगमसँग रहेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलुरु, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ ।

देशको शान र पहिचानसँग जोडिएको निगमको अन्तरराष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।