
१ चैत ०७८, चितवन । चितवनमा एक याेगी गाइकाे किरिया बसेका छन् । चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ गाइकाे किरिया बसेका हुन् ।
गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका थिए । उनी विगत नौ दिनदेखि हिन्दु परम्पराअनुसार मानिसको मृत्यु हुँदा किरिया बसेजस्तै कपाल खौरिएर, सेतो कपडामा बरखी बारेर किरिया बसेका छन् ।
उनका अनुसार गौशालामा पालिएका गाई आफ्नो माता समान भएकाले किरियाय बसेकाे हाे । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको उनकाे भनाई छ ।
योगी नरहरिनाथले कोटीहोम गरेको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् । गौ संरक्षण केन्द्रमा हाल करिब २०० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको सो केन्द्रका संयोजक रामप्रसाद वस्तीले बताए ।
गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उनको भनाइ छ । आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको संयोजक वस्तीको भनाइ छ । हालसम्म दाताहरूकै भरमा गाईको संरक्षण गर्दै आइरहेको उनले बताए ।







प्रतिक्रिया