४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


ललितपुरका रमाइला ७ गन्तव्य


२२ माघ २०७५, मंगलबार  

80
Shares

ललितपुर खबर
माघ २० २०७५
शनिबार होस् वा अरु छुट्टीको दिन । काठमाडौं वरपरका गन्तव्य घुम्ने आन्तरिक पर्यटकको लस्कर हुन्छ । राजधानी नजिकका यस्ता छोटा गन्तव्यसम्म पुग्न बाटोको समस्या छैन । आजकल हरेक डाँडापाखामा होटल रिर्सोट खुलेका छन् । शहर नजिकका गाँउले रहनसहन जनजीवन हेर्न बुझ्न पनि पदयात्रा रमाइलो माध्यम बनिरहेको छ ।
शहरिया भागदौडको जीन्दगीदेखि वाक्कदिक्क आममान्छे छुट्ीको दिन अलि फरक आनन्द लिएर विताउन चाहन्छ । धेरैको रहर मोवाइल अफ गरेर गाडी लिइ परिवार सहित गाँउ पस्ने हुन्छ । जहाँ एकान्त हुन्छ,शान्ति हुन्छ ।
ललितपुरमा चर्चामा नआएका केही रमाइला घुम्नलायक ठाँउ छन् । जहाँ विस्तारै पर्यटकीय पुर्वाधार निर्माण भइ रहेका छन् । गाँउका मिजासिला मान्छेहरु पर्यटकलाई आतिथ्यता दिन माहिर छन् । गाँउ घुम्नुको मज्जा छुट्टै छ ।

१.लाकुरीभञ्न्याङ्ग

हिउँदयामको सूर्योदय हेर्न ललितपुरको लाकुरी भञ्ज्याङ्ग जान सकिन्छ । यात्रामा निस्कने यात्रुको लागि बाटो नदेख्नु एउटा समस्या हो । लाकुरीभञ्ज्याङ्ग जान ग्वार्कोबाट लूभू लामाटार हुँदै उकालो चढ्नु पर्दछ । लामाटारसम्म कालोपत्रे बाटो भएपछि माथि जान चच्ची सडक नै प्रयोग गर्नु पर्ने हुन्छ । खान बस्नका लागि सामान्य लज होमस्टेदेखि स्तरिय रिर्सोट पनि छन् यहाँ । लाकुरीभञ्ज्याङ्गबाट हिमाली दृश्यावलोकन हेर्न मज्जा हुन्छ । यहाँबाट विहानको सूर्योदय र साँझको सूर्यास्त हेर्न झन् रमाइलो हुन्छ ।
२.कोटडाँडा
केहीबर्षअघि बुद्ध एअरको जहाज दुर्घटना भएको कोटडाँडा धेरैले सुनेको नाम भए पनि यहाँसम्म कसरी जाने धेरैलाई जानकारी नहुन सक्छ । कोटडाँडा जानका लागि सातदोवाटोबाट गोदावरीको बाटो समात्नुपर्छ । बाँडेगाँउ अगाडि किटिनी पुग्नुअघि गोदामचौर हुँदै विशंखुनारायण मन्दिर जाने बाटो भेटिन्छ । कोटडाडा त्यही बाटो अगाडि बढ्दै जाने हो जव मन्दिर भेटिन्छ हल्का कच्ची उकालो जाानुपर्छ । सल्लाको बनबाट सिरसर हावा चल्दा गर्मीमा चिसो महसुस हुन्छ । कोडडाँडा पुलेपछि कचौरा जस्तो काठमाडौं छलंगै देखिन्छ ।
कोटडाँडामा खानबस्न होमस्टे त हुने भैहाल्यो । घुमफिर गर्ने ठाउ पनि प्रसस्तै छन् । बिशंखुनारायण मन्दिर घुम्ने क्रममा सानो गुफा पार गर्दा अर्को आनन्द मिल्छ । पाप धर्म जाँच्न ढुंगाको बीचबाट छिर्दा अर्को रमाइलो हुन्छ । डाँडातिर ठूला दुबेचौर छन् । खुलेको मौसममा पुग्ने हो भने गोदावरी,झरुवाराशी,गोदामचौर,चापागाँउ,बाँडेगाँउ धापाखेल वरपरका दृश्य हेर्न लायक हुन्छन् ।
३.दलचोकी

दलचोकी घुम्न जानका लागि तुलनात्मक रुपमा राम्रो बाटो छ । सातदोवाटोबाट सुनकोठी,ठेचो,चापागाँउ,टिकाभैरव हुँदै मल्ल होटलको बाटो पछ्याउदा विर्के धारासम्म दोहोरो गाडी गुड्ने कालोपत्रे चौडा बाटो छ । विर्केधाराबाट १५ मिनेटमै पुगिन्छ दलचोकी । गर्मी मौसममा चल्ने चिसो सिरेटो यहाँको विशेषता हो ।
उघ्रेको मौसममा पुग्ने हो भने मख्खै पार्ने हिमाल देखिन्छ । दक्षिण ललितपुरका डाँडापाखा देखेर जो कोहीको एउटै प्रश्न हुन्छ के यो पनि ललितपुर नै हो ?
हिमाल हेर्न मात्रै होइन दलचोकी पुग्दा मनकामनाको दर्शन गर्न पाइन्छ । यहीबाट पाथिभारा मन्दिर पुग्न सकिन्छ । यहाँ खान बस्न बस्न होमस्टे पनि छ ।
४.मैरे सातकन्या


मैरे पछिल्लो समय नजानिदो ढंगले विकशित हुँदै गएको एउटा पर्यटकीय गन्तव्य हो । मैरैमा सातकन्यामा खानबस्न कुनै होटल होमस्टे छैन । तर विहान पुगेर साँझ फर्कन सक्ने गन्तव्य हो यो । यहाँबाट मकवानपुर र ललितपुरका पहाडी श्रृखला राम्रो अवलोकन गर्न सकिन्छ भने हिमाल पनि उत्तिकै मुस्कुराइरहेको देखिन्छ ।
यहाँ नागरिक उड्डयन प्राधिकरणले स्थापना गरेको र्याडर छ । पाकिस्तानी एअरलाइन्सको दुर्घटनास्थल सातकन्या एरियएलभ्यूको लागि उत्तिकै उपयुक्त ठाँउ हो । मैरैलेक नजिकको तीनपाने वनभरि हिउँदमा गुराँस फुल्दा बनै राताम्मे देखिन्छ ।
मैरे पुग्न गाह्रो छैन । साततदोवाटोबाट चापागाँउ टिकाभैरव विर्केधारा हुदै मुलबाटो नछोडी अघि बढ्ने जो कोही तिनपाने पुग्न सक्छ । तीनपानेबाट उकालो मोटरबाटो समात्नु पर्छ । यहाँसम्म गाडी जाने बाटो छ ।
यहाँ धेरै पिकनिक आयोजना हुन्छ । घुमन्ते फिरन्ते युगल जोडी मोटरवाइकमा हुइकिदै यही पुग्छन् । जंगलमा प्रेमालाभ गर्ने युवायुवतीहरु आजकल प्रशस्तै भेटिन्छन् ।
५.कालेश्वर


कालेश्वर अलि टाढाको गतव्य हो । कालेश्वर जान सातददोबाटो लेलेको बाटो हुँदै नल्लु,भाररेउ,कतवन हुँदै गोटिखेल पुग्नु पर्छ । गोटेखेलस्थित सानो गोटिखेलबाट उकालो लागेपछि एउटा सुन्दर गाँउ भटिन्छ । आधा घण्टाको पैदल यात्रापछि कालेश्वर मन्दिर पुगिन्छ ।
कालेश्वरको घुम्नलायक गन्तव्य कालेश्वर मन्दिर हो । यहाँ दुई अग्ला चुचुर छन् । एउटामा कालेश्वर मन्दिर छ । यहाँबाट हिमााल देखिन्छ पहाड देखिन्छ अनि तराई पनि ।
कालेश्वरको विशुद्ध गाँउले परिवेश रहनसहन र रितीरिवाज अर्को हेर्नलायक विषयबस्तु हुन् । पाखापखेरामा फुल्ने सुनगाभाको सुगन्ध अर्को सुन्दर पक्ष हो । लटरम्म फुल्ने राता गुरााँस फुलले जंगलै हराभरा देखिन्छ । हिउदयाममा सिसवन भञ्ज्याङ्ग वरपरका बस्तीमा फूल्ने पहेलो तोरी बारीले मनै हरर बनाउछ ।
कालेश्वर नजिकको गोटिखेलमा रहेको बैतर्णी धाम अर्को घुम्नलायक तिर्थस्थल हो ।
६.माझखण्ड


नयाँ गन्तव्यको रुपमा विकशित हुँदै गएको माझखण्ड घुमफिर गर्ने धेरै यात्रीले नसुनेको नाम हो । विशुद्ध गाँउले रहनसहन स्थानीय तामाङ्ग संस्कृती बुझ्न माझखण्ड उत्तम गन्तव्य हो । यहाँ सुन्दर लाग्ने पहाडी बस्तीका कठीनाई नजिकबाट देख्न पाइन्छ ।
रुद्रेश्वर महादेव बौद्ध गुम्बा यहाँ धार्मिक पर्यटकले धुम्ने गन्तव्य हुन् ।
आजकल यहाँ बस्न खानका लागि स्तरिय होटल रेष्टुरेण्ट भेटिदैन । सामान्य खाना खाना र बस्ने चाँजो भने मिल्छ । स्थानीय व्यावसायीहरु मिलेर बृहत पर्यटकीय पुर्वाधार बनाउने योजना बनिरहेको छ । यहाँ केबुलकार बन्दैछ । होटल र रिर्सोट खोल्न व्यावसायी तम्तयार छन् ।
माझखण्डबाट तराईको शहर देखिन्छ । नजिकको रमितेडाँडाबाट लहरै हिमाल देखिन्छ ।
माझखण्ड जान सातदोवाटो टिकाभैरव तीनपाने छपेली हुँदै इकुडोल पुग्न जरुरी छ । इकुडोलबाट उकालो मोटरबाटो नछोडी जाँदा माझखण्ड पुगिन्छ । उकालो र कच्ची बाटोबाट मोटर लैजाँदा अनुभव नहुनेलाई कठीन हुनसक्छ ।
७.गुप्तेश्वर गुफा


अलौकिक गुफा । गुफाभित्र मन्दिर अनि बुट्टेदार भित्तो । निरन्तर पानीको आवाज आउने त्यो रमाइलो गुप्तेश्वर गुफा ।
यही छ,प्रसिद्ध गुप्तेश्वर महादेवको मन्दिर । मन्दिर पुग्न कठीन गुफाको अध्यारो सुरुङ्ग पार गर्नुपर्छ । गुफाभित्र नपसेको जो कोही गुप्तेश्वर गुफा पुग्दा रोमान्चित हुन्छ ।
अलि टाढै छ,गुप्तेश्वर गुफा । जहाँ पुग्न उही सातदोवाटोको पुरानो बाटो पछ्याउनुको विकल्प छैन । लेलेबाट नल्लु अनि नल्लुबाट भारदेउ गाँउ पार गरेपछि पुरानो तामाङ्ग बस्ती छोडेर टाडो उकालो पार गरेपछि मात्रै गुप्तेश्वर पुगिन्छ । जंगलको बाटो हिड्न र गुफा पस्न साथी चाहिन्छ । टर्च लाइट चाहिन्छ । गुप्तेश्वर गुफा पुग्नुअघि बुद्ध संस्कृतीको प्रतिक तोरणहरु टाँगिएको देखिन्छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ३० बजे