२८ भाद्र २०८१, शुक्रबार | Sat Sep 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


छुट्टी मनाउन माझखण्ड


२ बैशाख २०७६, सोमबार  

0
Shares


लपु संवााददाता
१ बैशाख २०७६,ललितपुर । एक दिने छोटो छुट्टी । यही छुट्टीको मौका छोपेर राजधानीको तानावपूर्ण वातावरण छोडेर काठमाडौं बाहिर घुम्न जान मन छ भने दक्षिण ललितपुरको माझखण्ड जानुस् ।
पहाडका टुप्पोमा समथर जमिनले बनेको छ माझखण्ड । दुई हजार मिटर उचाईमा रहेको माझखण्ड न चिसो छ न त ता–तातो नै । निरन्तर चल्ने सल्लाको रुखको हावाले यहाँ सधै शित्तल महसुस हुन्छ । यहाँबाट साँझपख तराईको फाँटमा पिलपिल बत्ती बलेको देख्न पाइन्छ । दक्षिण ललितपुर र उत्तर मकवानपुरका अग्ला चुचुर सबै देखिन्छन् । दोर्जेलाक्पा र लाङ्गटाङ्गलगायत हिमाल टलक्कै टल्किन्छन् । पश्चिममा अस्ताएको सूर्यास्त पनि उत्तिकै सुन्दर देखिन्छ ।

माझखण्ड भन्दा अग्लो छ रमिते लेक । हाइकिङ्गमा रमाउने पर्यटक माझखण्डमा बास बसेर उकालो लाग्न सक्छन् ।
धार्मिक सास्कृतिक रुपमा पनि धनी छ, माझखण्ड । यहाँ चौसठ्ठी ज्वर्तिलिङ्ग मध्ये एक रुद्रेश्वर महादेवको मन्दिर छ । स्थानीय टाइछोइलिङ्ग गुम्बा, बुद्ध विहार यसका प्रमाण हुन् । तामाङ्ग समुदायको वाहुल्य रहेको माझखण्डमा परम्परागत सहनसहन भेषभुसा अझै कायमै छ ।
माझखण्ड वरपरका पाखापखेरामा आजकल सुनगाभा फुल्छन् । माघ फागुनतिर रमतेलेक गुराँस फुलेर रातै देखिन्छ । माझखण्डमा हरेक दिन मौसम बदलिन्छ । विहान घमाइलो हुन्छ । दिउँसो मध्यान्हमा वादल लागेर शित्तल । साँझ खुला आकाशमा सुनौलो सुनौलो सूर्यास्त देखिन्छ । पानी परेर खुलेको आकाश हेर्दा चारैतिर रमाइलो लाग्छ । वर्षामा पाखा पखेरामा हरियाली छाउँछ भने हिउदमा फुस्रा डाँडाको फेदीमा हुस्सु नै हुस्सु । वर्षातमा चारैतिर झरना बगेको हेर्न माझखण्ड पुग्न जरुरी छ ।
पछिल्लो समय यहाँ पर्यटकीय गतिविधि बढ्दो छ । स्थानीय युवाहरु होमस्टे संचालनको योजना अघि बढाउदै छन् । डेस्टिनेशन माझखण्डले केवुलकार निर्माणको तयारी गरिरहेको छ ।

कसरी जाने
माझखण्ड जान सातदोवाटोबाट चापागाँउ सडकतर्फ लाग्नु पर्छ चापागाँउ टाहाखेल हुदै टिकाभैरव पुगेपछि लेलेतर्फ होइन कान्तिलोकपथको बाटो हुँदै मल्लहोटल,तीनपाने भञ्ज्याङ्ग झाक्रिडाँडा हुदै छपेली पुगिन्छ । छपेलीबाट भट्टेडाँडा,इकुडोलबाट सानोचिलाबाट उकालो बाटो पार गरेपछि माझखण्ड पुगिन्छ ।

सातदोवाटोबाट माझखण्ड पुग्न ३५ मिलोमिटर बाटो पार गर्नु पर्छ । यहाँ सम्म पुग्न फोर ह्वील गाडी चाहिन्छ । नत्र कारमा जाने हो भने आधा घण्टा जति गाडी रोकेर हिड्नु पर्छ । तर यहाँ अहिले खाने बस्ने व्यवस्थित होटल भने बनिसकेको छैन । खानेकुरा बाहिरबाटै लिएर जानु पर्छ ।

हेरौं थप तस्विरहरु ः

तस्विर ः माझखण्ड पर्यटन विकाश

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १ : ०५ बजे