२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


सलामी, मलामी र गुलामी   


२ बैशाख २०७६, सोमबार  

0
Shares

संकेत कोइराला

दासप्रथाको अन्त्य गर्ने प्रबल संकल्प लिएर राजनीतिमा होमिएका अब्राहम लिंकनले राष्ट्रपतिको सपथ लिए । पदको सपथ गरेर जब उनी औपचारिक सम्बोधनका लागि उभिएका थिए, प्रतिपक्षका एक सांसदले अपमान गर्ने उद्देश्य राखेर ललकार्दै भने– ‘लिंकन, सौभाग्यवश तपाईं हाम्रो देशको सर्वोच्च पद प्रेसिडेन्टमा निर्वाचित हुनुभयो । तर यो कुरा कथंकदाचित नविर्सनु होला कि तपाईंको पिता चमार हुनुहुन्थ्यो ।’ यसखाले अपमानपूर्ण कटाक्षलाई लिंकनले उत्तेजित हुनु सट्टा सहज भावमा लिए ।  उनका आँखाबाट बर्रर्र आँसु छल्कियो ।

 

आँसुमिश्रित नजरमा सांसदलाई सम्बोधन गर्दै भने– ‘धन्यवाद महाशय, अमेरिकाको प्रेसिडेन्टमा चुनिएको खुसीमा मैले आफ्नो गरिब पितालाई बिर्सन पनि सक्थें । तपाईंले अति उपयुक्त समयमा मलाई मेरो गरिब पिताको याद दिलाउनु भयो । तपाईंलाई मेरो मुरी मुरी धन्यवाद छ । मेरो गरिब पिता तन, मन र बचनले प्रतिवद्ध तथा आफ्नो कर्मप्रति समपिर्त पूर्ण चमार हुनुहुन्थ्यो । तर म एक पूर्ण राष्ट्रपति बन्न कदापि सक्ने छैन् । मलाई यस्तो लाग्छ कि एक अपूर्ण राष्ट्रपतिभन्दा एक पूर्ण चमार श्रेष्ठ हुन्छ । मेरो गरिब पिताले सिउनु भएको जुत्ता म देखिरहेको छु कि तपाईंले लगाउनु भएको छ । यदि त्यो कतै फाटेको छ भने भन्नुहोस् ताकि म सिलाई दिउँ ।’ लिंकनको जवाफ सुनेर आरोप लगाउनेको शिर श्रद्धाले निहुरियो ।

 

नेपालमा खरिदार कृष्णप्रसादका तीन छोरा प्रधानमन्त्री भए । खरिदार कृष्णप्रसादले औलो रोगको खानी मानिने विराटनगरलाई शहरमा परिणत गरे । भारतबाट शिक्षक मगाएर आदर्श स्कुल खोलेर शिक्षाको ज्योति जगाए । तीन भाइ प्रधानमन्त्रीले किताव र भाषणमा विराटनगरलाई अत्यन्तै स्नेह देखाए । तर व्यवहारमा यहाँको भौतिक संरचनामा एउटा इँटा थप्ने काम पनि गरेनन् । हराएको मानिस भेटिएको सूचना दिनुपरर्यो भने एउटा थिति ठेगानको चिरस्थायी संरचना विराटनगरमा आजसम्म बनेको छैन् ।

 

पिटाइबाट उत्रिएको ढलौटबाट बनेको मूति र संघर्षले खारिएको नेता उस्तै हो । बीपी राजीतिक व्यवस्थापनमा कच्चा ठहरिएकै हुन् । तर वहुलवादको बुलन्द आवाजले उनलाई लोकतन्त्रको ध्रुवतारा बनायो । के बालक, के युवा, के बृद्ध सवै माझ उनी जनप्रिय भए । जेलबाट मन बहलाउन लेखेका दस्तावेजले बीपीलाई जनमानसमा स्थापित गरायो । सिगरेटको खोलदेखि सुकेको पातसम्म उनको भावनाका संवाहक बने । आफूले रणमा खटाएको कार्यकर्ताले मैदानमा वीरता पाएको खबरसंगै बीपीको ढाड्सयुक्त चिट्ठी स्वजनको घरमा पुग्थ्यो । मर्दाको मलामी र बाँच्दाको जन्तीमा उनले कहिल्यै आफूलाई दोस्रो बनाएनन् । बरु अहिले त मलामीभन्दा पनि गुलामी र सलामीको लोभले नेपाली समाजलाई उचाल्दै लगेको छ । राजनीतिमा बढ्दो कन्सल्टेन्सीले स्वतन्त्र नभएर गुलाम जनशक्ति उत्पादन गर्न मद्दत पुर्याएको छ ।

 

दक्षिण एशियामा स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको मृत्यु हुँदा तिनै पुस्ता कोकोहोलो मच्चाउँदै सडकमा निस्कियो । स्वतन्त्रता सेनानी नेल्शन मण्डेलाको अन्त्यमा विश्व नै आँसु झारेर झोक्रायो । त्यसैले त भनिन्छ– सफल क्रान्तिकारी राजनेता हो भने असफल क्रान्तिकारी अपराधी रु अपराधी बन्ने कि राजनेता बन्ने त्यसको छिनोफानो स्वयं नेताको कर्मले गर्ने हो ।

 

गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि । पेट सारंगी भएकाहरुका लागि एकमुट्ठी माड, आङमा भ्वाङ परेका लागि एक शरीर टालो र तिर्खाएकाहरुका लागि एक गिलास जल नै लोकतन्त्र हो । अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरुले कन्याउने सुकेलुतो मात्र हो । तिनीहरुलाई के थाहा रु सत्य मान्छेपिच्छे फरक हुँदैन । ती पटमूर्खहरु त अनुहारमा पोतिएको कालो देख्दैनन, तर रातदिन ऐना पुछिरहन्छन् ।

 

मेचीबाट छुटेको रात्रीबस सूर्योदय नहुँदै पश्चिम महाकाली टेक्ने भुगोल भएको देशका नेताहरु हातमा सीप नभएको सूचिकारले जथाभावी कपडा काटेजस्तो देश कित्ताकाट गरेपछि चौबाटोमा अल्मलिएको पथिक जस्तै बनेका छन् । विश्व नै सानो गाउँमा अनुवाद हुँदै गएको सत्यबाट विमुख यिनीहरु विश्वास एकातिर, कर्म अर्कातिर गर्न उत्प्रेरित छन् । आफ्नो अंश यता र वंश विदेशी भूमिमा रोपेका उनीहरुको दैनिकी नर्सरी पढ्ने नाति पनातिले पनि कुरीकुरी गर्ने खालको छ । घरको पारिवारिक सन्तुलन मिलाउन नसकेका यिनीहरु घरकै चुलो चौकोबाट बहिष्कृत भए भन्ने समाचार आएमा आश्चर्य नमाने हुन्छ ।

 

कांग्रेसजनहरु आफ्नै दलभित्र नागरिकताविहीन भएका छन् । पार्टी सभापति म्यानेजर नभएर खञ्जाची भएको पीडा उनीहरुले खेप्नु खेपेका छन् । केही बोले पखेटा काटिने भयले तैं चुप मै चुपको अवस्थामा छन् । केपी ओली न निल्न सक्छन, न ओकल्न । औंसीको रातमा पूर्णिमाको गीत गाउनु उनको विशेषता बनेको छ । घाँटीमाथि मात्र चल्ने नेताको परिचय बनाएका यिनको अन्तिम गन्तव्य भनेको सिंहदरबारमा फोटो झुण्ड्याउनमा सीमित रहने निश्चित छ । अहंकार र प्रतिशोधीलाई त्यही आफूभित्रको अवगुणले सिध्याउँछ, कोही शत्रु लाग्नै पर्दैन ।

 

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन् । अंक गणितमा हारेपनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता  खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन् । इतिहास साक्षी छ– ताओका कट्टर समर्थक लाग्ने यी पात्रले पितललाई सुन हो भन्ने दलील गर्दा कांग्रेस, एमालेले कसीमा घोट्न लैजाने सामथ्र्य देखाउन सकेनन् । बरु प्रचण्डको जालसाझी कागजमा ल्याप्चे लगाएर आफूलाई हनुमानदास प्रमाणित गरेका छन् । प्रचण्डसंगको संगतपछि कांग्रेसको प्रजातान्त्रिक समाजवाद हिमालमा हराएको यत्ति मानवजस्तै भएको छ । राजनीतिबाट खस्नेहरुका लागि गुरुत्वाकर्षण जिम्मेवार हुँदैन । भोलि त्यो स्थितिमा नेकपा र काँग्रेसका लागि नैतिकताको कति जमिन बाँकी रहन्छ, त्यो समयले बताउला । चीनमा एउटा उखान छ– एउटा मात्र कुकुर कसैमाथि भुक्छ, बाँकी भुकेको आवाज सुनेर भुक्छन् । नेताहरुको भुकाइ पनि त्यही हो । उनीहरुले बुझ्न जरुरी छ– सफलताको सूत्र पुस्तकमा नभएर मेहनतमा हुन्छ । 

 

अधर्मी मान्छे पुजारी हुँदैमा धार्मिक हुने होइन । बरु धार्मिक मान्छे पुजारी भयो भने देवताको साख बढ्ने हो । भक्त बढ्न मन्दिर ठूलो नभई देवता विश्वासी हुनुपर्छ । मान्छेको अनुहारको आयु दुई दशक पनि बाँकी रहँदैन तर असल विचार हजारौं हजार वर्षसम्म अजर अमर रहिरहन्छ । विचार पनि आखिर सुनजस्तै न हो, न यसमा खिया लाग्छ, न कहिल्यै पुरानो हुन्छ ।

 

लाटो तीनपल्ट हाँस्छ रे । पहिलो बुझ्दै नबुझी अरु हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर तेस्रो अगाडिको अवस्था सम्झिए । नेताको ताल त यस्तो छ भने तिनीहरुले भाग्य बनाइदिएर सुखी हुनुपर्ने जनताको हविगत कुन हालतमा होला ?

पव्लिक न्युज एजेन्सी

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  २ : १५ बजे