६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शहरका पोखरीको संरक्षण अभाव


२५ जेष्ठ २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
२५ जेठ ०७६, ठेचो । उपत्यकाका नेवार समुदायले सिठी नखः (पानी दिवस) इनार, ढुंगेधारा, कुवा, पोखरीलगायत खानेपानीका स्रोत सरसफाइ गरेर मनाउने गर्छन् । ललितपुरका ठेचोमा रहेका ८ वटा पोखरीको भने सरसफाइ नभएको वर्षौं भयो । केही वर्ष पहिलेसम्म यी पोखरीको पानी खानका लागि प्रयोग गरिन्थ्यो । हिजोआज दुर्गन्धले नजिक पुग्न पनि मुस्किल हुन्छ । यी पोखरी संरक्षणका निकाय नभएका पनि होइनन्, चासो देखाउनेको कमी भएको हो । गोदावरी नगरपालिका–१२ मा पोखरी संरक्षण गर्ने जनशक्तिको अभाव छैन ।
ठेचोको मूल बालकुमारी गुठीअन्तर्गत ४ गुठी र ब्रम्हायणी गुठीअन्तर्गत ३ गरेर ७ वटा छन । एउटा गुठीमा कम्तीमा एक सयभन्दा बढी गुठीयार सदस्य छन । बालकुमारी र ब्रम्हायणी गुठीले चाहेमा बजेट पनि व्यवस्थापन गर्न सक्छन । तर, सरसफाइ गर्न न गुठीयारले चासो दिए, न त जनप्रतिनिधिले नै । ‘जनप्रतिनिधि नै पोखरी मासेर वृद्धाश्रम बनाउन लागि परेका छन्,’ सम्पदा पुनर्जागरण तथा संरक्षण समूह गोदावरीका वीरेन्द्र महर्जनले भने । उनले नेवारी सम्पदा मास्ने अरू कोही नभई नेवार नै भएको उनले जिकिर गरे ।


पूर्णचण्डी पोखरीमा हेर्दाहेर्दै व्यापारिक कम्प्लेक्स बन्यो । पुल्चोकस्थित पले स्वा“ (कमलपोखरी) मा सिटी हल बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरे । पाटनका २१ नम्बरका तत्कालीन वडाध्यक्ष कुलाल डंगोलले दरबारदेखि पोखरी मास्ने निर्देशन आउने गरेको सुनाए । ‘दरबारका सचिवको प्रभावमा परेर त्रिभुवनले पाटन पिम्बहाल पोखरी मासेर पार्क बनाउन निर्देशनात्मक पत्र पठाए,’ उनले भने, ‘निर्देशन नमानेमा पञ्चायतबाट बर्खास्त गर्ने चेतावनी दिए ।’ सम्पदाको महत्त्व बुझेर मास्न नदिएको उनले सुनाए । ‘अहिलेका जनप्रतिनिधिले भने धमाधम मास्न सिफारिस दिइरहेका छन् ।’ ताम्राकार समाज र सम्पदा पुनर्जागरण तथा संरक्षण समूह ठेचोद्वारा सिठी नखःको अवसरमा आयोजित जल सम्पदा विषयमा सांसदसगको अन्तरक्रियामा डंगोलले भने, ‘जबरजस्ती गरेमा कडा रूपमा प्रस्तुत हुन बाध्य हुने छौं ।’


ललितपुरका सांसद जीवन खड्काले सम्पदाको संरक्षण प्रवर्द्धन गर्न बढी स्थानीय र केन्द्र सरकार लाग्नुपर्ने बताए । उनले केन्द्र, स्थानीय सरकार र मन्त्रालयलाई बढी घच्घचाउनुपर्नेमा जोड दिए । ‘जलस्रोतको धनी देश लोभलालचले गर्दा बिग्रियो,’ उनले भने । सांसद शोभा शाक्यले पोखरी, ढुंगेधारा र राजकुलो संरक्षण गर्न प्रदेश सरकारसमक्ष बजेट माग गरिने बताइन् । उपत्यकामा २००७ सालयता ४० पोखरी र ५२ ढुंगेधारा मासिएका छन् । काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर, कीर्तिपुर नगरपालिकालगायत उपत्यकाका १० नगरपालिकामा २ सय ३३ पोखरी र ५ सय ७३ ढुंगेधारा थिए । तर, अहिले १ सय ९३ पोखरी र ४ सय ७९ ढुंगेधारा बाकी छन् । ललितपुरमा ६१, काठमाडौंमा १ सय ६५, र्की्तिपुरमा ११, मध्यपुरथिमिमा ६५ र भक्तपुरमा ८७ ढुंगेधारामध्ये ललितपुरमा ७ बन्द र ७ वटा मासिएका छन् । काठमाडौंमा ३३ वटा मासिएका, ३४ बन्द, मध्यपुरथिमिमा ९ बन्द र ३ मासिएका र भक्तपुरमा १८ बन्द भइसकेका छन् ।
ढुंगेधारा मास्नुमा कानुनी कुनै त्रुटि छैन । ‘संविधानले जल सम्पदालाई संरक्षण र सम्वर्द्धन गर्न प्रयत्न गरेको छ,’ कानुनका विद्यार्थी सञ्जय अधिकारी भने । वातावरण तथा सांस्कृतिक सम्पदा संरक्षण गर्न दर्ता गरेका करिब सय मुद्दामा भएका ४४ वटा ऐतिहासिक फैसला अधिकांश कार्यान्वयन नभएको उनले सुनाए ।
ललितपुर महानगरपालिका सम्पदा शाखा प्रमुख चन्द्रशोभा शाक्यले प्रत्येक वर्ष बजेट व्यवस्थापन गरेर संरक्षण गर्दै आइरहेको बताइन् । ‘जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेका छौं,’ उनले भनिन्, ‘जलसम्पदाको सम्पूर्ण तथ्यांक संकलन गर्ने योजना छ ।’ ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले सम्पदा बारेमा निरन्तर बहस गर्दै जाने बताए । ‘सम्पदाको महत्त्वको बारेमा जनचेतना जनाउनुपर्ने आवश्यक देखिन्छ,’ उनले भने ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  ११ : ३९ बजे