६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


किमाथांकामा चीनको बाँध, नेपाली बस्ती खतरामा


९ श्रावण २०७६, बिहिबार  

0
Shares


पव्लिक न्युज एजेन्सी
काठमाडौँ । चीनले संखुवासभाको अरुण नदी सिमानामा पक्की संरचनासहितको तटबन्ध बनाएपछि नेपाली भूमि कटानको उच्च जोखिममा परेको छ । कटानका कारण भोटखोला गाउँपालिका–१, हेमाथांका बस्ती उच्च जोखिममा परेको हो । भोटखोला–१ का अध्यक्ष तेन्छेवी शेर्पाले नेपाल आजसँग भने–‘चीनले पक्की संरचना बनाइसक्यो, अब खोला उता जाने ठाउँ छैन । धमाधम यता कटान भएको छ । ’ यसले विस्तारै नेपाली भूमि डुबानको खतरामा पुगेको उनले बताए ।

किमाथांका–१ मा एक सय घर परिवार बसोबास गर्छन । चीनपटि करिब १ किलोमिटर क्षेत्रमा आफ्नो चाँगा बजारको सीमाना सुरक्षित गर्नेगरी चीनले तटबन्ध बनाएको हो । चीनले तिङ गीसेनबाट रिउ हुदै चाँगा बजारसम्म आउने सडक अरुण नदीलाई बाँध लगाएर निर्माण गरेको छ । ‘त्यस क्षेत्रमा चिनले सन् २०१७ देखि बाँध निर्माण थालेको हो । पञ्चवर्षीय यस योजनामा उनीहरुले स्काभेटर प्रयोग गरी बालुवा, गिटी निकालेका छन् । यसले ठूलो समस्या खडा गर्ने देखिन्छ ।’ शेर्पाले बताए ।

चीनले बनाएको संरचनाबारे गत मंसिरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, प्रमुख जिल्ला अधिकारी लगायतको २७ जनाको टोलीले अनुगमन गरेको थियो ।

उक्त अनुगमनमा संलग्न एवं संखुवासभाकै प्रदेशसभा सांसद सरिता थापा खड्काले चिनिया पक्षले अरुण किनारामा सडक खनेकाले त्यसको सुरक्षाका लागि आरसीसि ढलानसहित तटबन्ध उठाएको नेपाल आजलाई बताइन् । ‘ उक्त क्षेत्रमा नाका खोल्न २०० रोपनी जग्गा मात्र समथर भूभाग छ । त्यसको व्यवस्थापन नहुने हो भने नाका खोल्न समस्या हुने मात्र होइन अरुण नदीले धार परिवर्तन गर्दा त्यस क्षेत्रको भू–भाग नै समस्यामा पर्छ । परेको छ ।’ उनले जानकारी दिइन् ।

चीनले तटबन्ध बनाएर नदी कटान गराउन थालेपछि पनि वर्षायाममा बाढीको समस्या बढने गरेको कतिपयको आशंका छ । चीनले बनाएको संरचनाका कारण नेपाली भूमि डुबान भएको हो त ? शेर्पा भन्छन्–‘बाँधले नदी कटान गरेर समस्या भएको हो ।’

चीनले ५ वर्षीय रणनीति अनुरुप सीमा क्षेत्रमा एकाएक संरचना बनाई नेपाली भूभागतर्फ नदी छाडेपछि नेपाली भूभाग विस्तारै बगाउने देखिएको छ । यद्यपि समस्या समाधानका लागि सिँचाईमन्त्री वर्षमान पुनले पनि हेलिकोप्टरबाट अवलोकन गरेका थिए ।

प्रादेशिक मुख्यमन्त्रीसहित संघीय सरकारका अन्य मन्त्रीले पनि भ्रमण गरी वस्तुस्थिति बुझेका थिए । समस्या समाधानका लागि केन्द्र सरकारले डेढ करोड बजेट छुट्याएको थियो । बजेटबाट १०८ मिटर तटबन्ध निर्माण गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए । ‘नाका सञ्चालनका लागि जिरो प्वाइन्ट त्यहीँ हो । उनीहरुले बनाएको संरचनाले हाम्रो कटान मात्र भएको छैन ठूलो चउर त डुबान नै गरिसक्यो । भोलि नाका सञ्चालनका लागि पनि ठाउँ छैन ।’ उनले स्पष्ट पारे ।

संखुवासभाका प्रतिनिधि सभा सांसद् राजेन्द्रप्रसाद गौतमले पनि तटबन्ध बनाएर चीनले चिनिया भूभागको रक्षामा लागेको बताए । ‘उसले तटबन्ध बनाएर आफ्नो क्षेत्र सुरक्षा गरेको हो । हामीले पनि आफ्नो क्षेत्रपट्टि तटबन्ध बनाएर लगेका छौँ ।’

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  ११ : ५४ बजे