४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘नेपाल–भारतबीच कार्यान्वयन नभएका सम्झौता खारेज’


२९ श्रावण २०७६, बुधबार  

0
Shares

२९ साउन ०७६, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौंसम्म पनि कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित रहेको बताएका हुन् ।
‘दशकौं हुँदा पनि केही सम्झौताहरु कार्यान्वयनमा जानुको साटो उल्टो तनावको विषय बन्न गइरहेका छन्,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘अब त्यस्ता सम्झौतालाई कि कार्यान्वयन गरौं कि पन्छाऔं ।’ पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजनालगायतका सम्झौतातर्फ संकेत गर्दै उनले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नुमा दुवै देशको हित हुने बताए ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न अन्र्तक्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपालका लागि उदारभाव देखाउनुपर्ने बताए । नेपाल विश्व महाशक्ति या क्षेत्रीय शक्ति पनि नभएको र बन्ने महत्वाकांक्षा पनि नराखेको बताउँदै भने,‘हामी समृद्धिको उद्देश्य बोकेर अगाडि बढ्न चाहन्छौं, त्यसका लागि भारतले उदारताका साथ साथ देओस् ।’ भारतबाट लगानीको अपेक्षा गरिएको र त्यसले भारतको पनि हित गर्ने बताए । नेपाल र भारतबीच व्यापार घाटा बढिरहँदा नेपाललाई ठूलो नोक्शानी परिरहँदा भारतबाट नेपालमा उद्दोग संचालनमा लगानी हुन सके घाटाको समस्या समाधान हुने बताए । उनले भने,‘दुवै देशलाई लाभ हुनेगरी विन विनको अवस्थामा जानुपर्छ ।’
नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताए । दुई देशबीच विगतमा भएका सन्धी सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साही बनाएको बताए । उनले भने,‘अब सिधै मोतिहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट तेल आउँछ, हामी परिणाम हासिल गर्दैछौं ।’ वीराटनगर चेकप्वाइन्ट सुचारु हुन गइरहेको र अरुण तेस्रो जलविद्युत आयोजना पनि द्रुत गतिमा बढिरहेको बताए । उनले भने,‘गेम चेन्जर आयोजनाहरु सफल बनाउँदैछौं ।’ दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयन भई सफल परिणाम हासिल हुँदा सम्बन्ध मजबुत हुनाका साथै उत्साह बढेको बताए ।
पूर्व परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरुमा एकमत भएको बताए। नेपाली जनता विश्वकै द्रुत आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट लाभ लिने आशामा रहेको बताए । भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।
महतले भारतको आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको बताए । व्यापार घाटा घटाउन भारतीय लगानी भित्रिएर उद्दोगधन्दा खोलिनुपर्नेमा जोड दिए । नेपालको कच्चा पद्धार्थ नेपालमै सदुपयोग गर्ने गरी भारतीय लगानी भित्राउनसक्नुपर्ने बताए ।
पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालप्रति चासो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको उत्तम अवसर भएको बताए । अवसरलाई खेर फाल्न नहुनेमा उनको जोड थियो । भारतको आर्थिक वृद्धि नेपालका लागि अवसर बनेको लोहनीले बताए । नेपालले भारतबाट लाभ लिनसक्ने जलविद्युत, कृषि, प्रविधिलगायतका क्षेत्रहरु रहेको बताए । जलविद्युत आयोजनाहरु निर्माणमा भारतीय पक्ष अझ चासोका साथ आउनुपर्नेमा जोड दिए । उनले भने, ‘ठूला जलविद्युत आयोजनाहरु बन्न सके नेपाल र भारतको आर्थिक विकासमा अझ योगदान पुग्छ ।’
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपालले भारतको आर्थिक विकासबाट लाभ लिनसक्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा नेपालले अभूतपूर्व प्रगति गर्न सक्ने अवसर बनेको बताए । मोदी नेपाललाई निकै माया गर्ने नेता भएको र छिमेकमा शक्तिशाली प्रधानमन्त्रीका रुपमा स्थापित भएकाले नेपाललाई अवसर प्राप्त भएको बताए । धमलाले भारतको ७३ औं स्वतन्त्रता दिवसका अवसरमा बधाई शुभकामना दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १० : ५१ बजे