८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित गुम्बामा राखिने


२३ भाद्र २०७६, सोमबार  

0
Shares

काठमाडाैं ।नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित गुम्बामा राखिने भएको छ। सनफ्रान्सिस्कोस्थित एक चर्चलाई गुम्बा बनाएर त्यहाँ बुद्धको मूर्ति राख्न लागिएको हो।

पाटन औद्योगिक क्षेत्रभित्र रहेको शाक्य ह्यान्डिक्राफ्टमा मूर्तिकार विरेन्द्र अवालेको समूहले मूर्ति तयार गरेको हो। उक्त समूहमा कलाकार गणेश प्रजापति, रामकृष्ण महर्जन र राजु महर्जन छन्। मूर्ति सोमबार अमेरिका लगिदै छ। तामाबाट बनाइएको मूर्ति तयार गर्न दुई वर्ष लागेको मूर्तिकार विरेन्द्रले जानकारी दिए।

अमेरिका लान लागिएको मूर्ति हेर्न पुगेका ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले नेपाली कला र कलाकारको प्रसिद्धीलाई यसले उचाई दिने बताए। मूर्तिकारको प्रशंसा गर्दै प्रमुख महर्जनले महानगर कला, संस्कृतिको संरक्षणका प्रतिबद्ध रहेको बताए। ‘भिला परासोल टेम्पल’ले शाक्य ह्यान्डिक्राफ्टलाई मूर्ति निर्माण गर्न अनुरोध गरेको क्राफ्टका प्रोप्राइटर सागर शाक्यले बताए। उभिएको बुद्धको मूर्ति निकै आकर्षक देखिन्छ।

भिला परासोल टेम्पलका बोर्ड अफ डाइरेक्टर अल्फ्रेड वाङले चर्च किनेर गुम्बा निर्माण गरेपछि बुद्धको मूर्ति राख्न लागिएको बताए। बुद्धको मूर्ति प्रतिस्थापनाले गुम्बालाई मनमोहक बनाउने उनको भनाइ छ।

भिला परासोल टेम्पलका अध्यक्ष मरिआन हुङले बुद्धको मूर्ति मिहिनेतका साथ तयार गरेकामा खुशी व्यक्त गरेकी छन्। विश्वकला परिषद्ले ललितपुरलाई ३५ औं कला नगरी घोषणा गरेको जानकारी दिँदै यसले कला, संस्कृतिको संरक्षणमा महानगर जिम्मेवार र संवेदनशील भएको महानगर प्रमुख महर्जनले बताए।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।