१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कम्मरमा पेस्तोल भिरेर हिँडेका ‘सार्पसूटर’ भक्तपुरबाट पक्राउ


२४ भाद्र २०७६, मंगलबार  

0
Shares

काठमाडाैं । सोमबार साँझ करिब ५ः३० बजेतिर महानगरीय प्रहरी परिसर भक्तपुरमा एउटा सूचना आयो, एउटा व्यक्ति कम्मरमा पेस्तोल भिरेर सडकमा हिँडिरहेका छन् ।

सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरबाट विशेष टोली परिचालन भयो । टोली परिचालन भएको करिब डेढ घण्टा पछि, ७ बजे आसपास एकजना व्यक्ति पेस्तोलसहित पक्राउ परे ।

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका घर भएका ३८ वर्षीय शम्भुप्रसाद साह छन् ।

प्रहरीका अनुसार साह एकजना व्यक्तिको ‘हत्या गर्न’ राजधानी काठमाडौं आएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले साह सोमबार नै भक्तपुर पुगेको बताए । एसपी प्रधानका अनुसार साह बीपी राजमार्गको बाटो भएर सार्वजनिक यातायात चढेर काठमाडौं आएका थिए ।

भक्तपुर ओर्लिएको करिब ३ घण्टापछि साह पक्राउ परेका एसपी प्रधानले बताए ।

‘उनले कसैको हत्या गर्ने योजना बनाएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी प्रधानले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले साहको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ । प्रहरीका अनुसार साहले १ राउण्ड गोली पेस्तोलमा लोड गरिसकेका थिए भने ४ राउण्ड गोली खल्तीमा राखेका थिए ।

प्रहरीले उनी ‘सार्पसूटर’ भएको आशंकामा उनको ‘क्रिमिनल ब्याकग्राउण्ड’ (अपराधिक पृष्ठभूमि)को अध्ययन पनि थालेको छ ।

‘उनी यसअघि पनि कुनै घटनामा संलग्न थिए कि भन्ने आशंकामा उनको क्रिमिनल ब्याकग्राउण्ड पनि अध्ययन गरिरहेका छौं,’ एसपी प्रधानले भने, ‘अहिले सबै विषय अनुसन्धानकै क्रममा छ ।’

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ३ : २९ बजे