२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शून्य लागतमै खुल्यो मलेसियाको रोजगारी


२७ भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडौँ । एक वर्षभन्दा बढी समयदेखि बन्द भएको मलेसियाको रोजगारी खुला भएको छ । नेपाली श्रमिकले मलेसियामा शून्य लागतमै जान पाउने भएका छन् भने विगतको तुलनामा सामाजिक सुरक्षासमेत प्रभावकारी हुनेछ ।

नेपाल र मलेसिया सरकारबीच यसअघि भएको द्विपक्षीय सम्झौताअनुरूप नेपाली श्रमिक मलेसियामा लैजाने गरी बिहीबार सहमति भएपछि रोजगारीको ढोका पुनः खुलेको हो । मलेसियामा तीन दिनसम्म दुई देशका प्राविधिक समितिबीच भएको बैठकले बिहीबार गरेको सहमतिले शून्य लागत र सामाजिक सुरक्षालाई निष्कर्षमा पु¥याएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा। रामप्रसाद घिमिरे नेतृत्वको नेपाली टोलीले तीन दिनकोे छलफलपछि नेपाली श्रमिक लैजानेबारे दुई देशबीच सहमति जुटाउन सफल भएको हो । मलेसियाबाटै डा। घिमिरेले भन्नुभयो, “सम्झौताअनुसार नै शून्य लागतमा नेपाली श्रमिक मलेसियाले लिने सहमति भएको छ ।”

पछिल्लो सहमति र कार्यविधिबारे उहाँले थप्नुभयो, “तत्काल यसअघि मलेसिया जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण गर्दै आएका संस्थाबाट गराइनेछ र आउँदो नोभेम्बरबाट भने नेपालीले नै छनोट गरेका स्वास्थ्य संस्थाबाट परीक्षण गराएर मात्रै पठाउने गरी सहमति भएको छ ।’’ मलेसिया सरकारले नेपालको प्रस्तावअनुसार ती स्वास्थ्य संस्था खारेज गरिनसकेको र त्यसका लागि समय लाग्ने भएकाले तत्कालका लागि ती संस्थाबाटै निरन्तरता दिने सहमति भएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल र मलेसिया सरकारबीच गत वर्षको कात्तिक १२ गते शून्य लागतमा नेपाली श्रमिक लैजानेबारे सहमति भएको थियो । नेपाली श्रमिक जाने प्रक्रियादेखि त्यहाँ पुगेर काम नगर्दासम्म लाग्ने र्खच रोजगारदाताले बेहोर्ने गरी सहमति भएको थियो । सहमतिपछि बाँकी रहेका विषयलाई टुङ्गो लगाउन दुवै देशमा प्राविधिक समिति गठन गरिएको थियो । ती समितिको चरण चरणमा बैठकपछि बल्ल यस विषयमा अन्तिम टुङ्गो लागेको हो । २०७५ साल जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियाली उच्च अधिकारीसहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा। घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोली गत सोमबार मलेसिया गएको थियो ।

आउँदो साताबाटै श्रमस्वीकृति
दुई देशबीचका प्रतिनिधि सहभागी भएको बैठकबाट मलेसिया रोजगारीको ढोका खुलेको छ । दुई देशको सहमतिसँगै अब नयाँ श्रमिकका लागि आउँदो सातादेखि वैदेशिक रोजगारीका लागि मलेसिया जानेका लागि श्रमस्वीकृति दिन थालिने भएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : १९ बजे