काठमाडौं । नेपालमा चाडपर्वको मौसम शुरु भइसके पनि वर्षातको मौसम भने अझै सकिएको छैन । खहिले पनि देशका विभिन्न भेगमा दिनहुँजसो पानी परिरहेको छ ।
आज (सोमबार) पनि देशभर मौसम बदली भई विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) हाल देशभरि आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिम तथा पूर्वका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
अहिले पश्चिमका जुम्ला, लमजुङ, कास्कीलगायत, मध्य क्षेत्रका मकवानपुर, चितवनलगायत र पूर्वका मोरङ, इलाम, झापालगायत जिल्लामा हल्का पानी परिरहेको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ । साथै पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै राति पनि देशभर बदली भई केही स्थानमा वर्षा जारी रहनेछ भने पूर्व र मध्य क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् बासीले बताएकी छन् । मौसम महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानआसपास छ भने पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ छ ।
साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली पनि छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेको छ । यसैको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढेको महाशाखाले जनाएको छ । ‘यो क्रम अझै दुई–तीन जारी रहने जनाइएको छ ।
प्रतिक्रिया