११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुकुटे बस दुर्घटनामा मृतक १६ मध्ये पाँचको सनाखत


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

१७ कार्तिक ०७६,सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ मध्ये पाँचको सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक १५ मध्ये नौ महिला, एक बालिका, दुई पुरुष र तीन बालक छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सनाखत हुनेमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी छ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका–३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका तीन वर्षीय बालक सिसन तामाङ छन् ।

दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा जुटिरहेका छन् । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएका प्रहरीको भनाइ छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो ।

बसमा ४० बढी यात्रु सवार रहेका बताइएको छ । सिन्धु सहावहार अस्पताल खाडीचौरमा २० को उपचार भइरहेको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ । गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक काफ्लेका अनुसार ठूलो दुर्घटना भएकाले क्षति बढ्न सक्ने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : १९ बजे