७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जन्मदिनको अवसरमा बालकले गरे अपाङ्ग वालवालिकालाई सहयोग


१० मंसिर २०७६, मंगलबार  

0
Shares

१० मंसिर ०७६, खोटाङ्ग । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका सात वर्षीय समृद्ध राईले आफ्नो जन्मदिनका अवसरमा सानोघर टाँडी चितवनलाई रु सात हजार सहयोग गर्नुभएको छ । यही मङ्सिर ९ गते सोमबार छ वर्ष पूरा गरी सात वर्ष टेकेका सन्दर्भमा बालक राईले सानोघरमा आश्रित फरक क्षमता भएका २० व्यक्तिलाई आर्थिक सहयोग गर्नुभएको हो ।
विद्या संस्कार (पहिलेको चेल्सी इन्टरनेसनल स्कूल) काठमाडौँमा कक्षा १ मा अध्ययनरत बालकले विभिन्न पत्रिकामा प्रकाशित चित्रवापत प्राप्त पारिश्रमिक, चाडबाडमा पाएको दक्षिणा रस आफन्तले दिएको पैसा सङ्कलन गरेर सानोघरलाई आर्थिक सहयोग गरेको समृद्धकी आमा रिङ्कु राईले जानकारी दिनुभयो । ‘समृद्धलाई सानैदेखि बाँडेर खानुपर्छ भन्ने पाठ सिकाएका छौँ’, उहाँले भन्नुभयो, ‘उनले प्रत्येक जन्मदिनमा जति वर्ष पुग्छन्, त्यति नै हजार सहयोग रकम प्रदान गर्ने भएका छन् ।’

समृद्धको जन्मदिनको अवसर पारेर उनको नाममा विद्यालय र घरमा दुई केक काटिएको जनाइएको छ । ‘तर गत वर्षको जन्म दिनभन्दा सानो केक काटियो’, समृद्धकी आमा रिङ्कुले भन्नुभयो, ‘विगतका वर्षहरूमा ‘बर्थ डे’ मनाउँदा, आफन्त, इष्टमित्र र छिमेकी बोलाएर खानपिन गराइन्थ्यो । यस पटकदेखि खानपिन गर्ने पैसा कटौती गरेर सामाजिक काममा लगाउने पारिवारिक सल्लाह भएको छ ।’
सात वर्षीय बालकबाट आर्थिक सहयोग पाउँदा आफूहरु खुशी भएको सानोघरकी संस्थापक विमला श्रेष्ठले बताउनुभयो । ‘आफ्ना छोराछोरीका नाममा गरिने फजुल खर्च रोकेर सामाजिक काममा लगाउन खोज्ने समृद्ध राईका आमाबुबाप्रति कृतज्ञ छु’, उहाँले भन्नुभयो, ‘सम्बन्धित छोराछोरीका अभिभावकले सानैदेखि यस्तो संस्कार सिकाउँदै लगेमा सुन्दर नेपाल झन् सुन्दर बन्ने थियो ।’ पछिल्लो समय जिल्लाका हरेक बालबालिकाको जन्मदिनमा भोज लगाउने प्रचलन वृद्धि हुँदै गएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ९ : ०५ बजे