
३ पुस ०७६, काठमाडौं । नागरिकका समस्या समाधान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका–४ ले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा ल्याएको छ । वडाले सञ्चालन गरेको कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभाका सांसद, नगर प्रमुख, उपप्रमुखले नागरिकका गुनासा सुन्ने र राय लिने काम गर्छन् ।
आज सातौँ चरणको कार्यक्रम सम्पन्न भएको छ । टोल–टोलमा पुगी स्थानीयवासीका माग सम्बोधन गर्न काठमाडौँ क्षेत्र नं ५ (क) का सांसद नारायण सिलवाल र सीता अधिकारी (दाहाल) सक्रिय रुपमा लागि पर्नुभएको छ । सांसदहरु आई विकासका योजना दिन थालेपछि स्थानीयवासी पनि खुशी हुन थालेका छन् ।
जनताको समस्या बुझ्ने क्रममा चक्रपथ सडक विस्तार परियोजना र मेलम्ची खानेपानी परियोजनाले परेको असर र कामको ढिलासुस्ती बारेमा आफूले गम्भीररुपमा लिएको सांसद सिलवालले बताउनुभयो । ‘मन्त्रालय, सडक विभाग र निर्माण व्यवसायीहरुसँग पटक–पटक छलफल तथा परामर्श भइरहेको छ ।’, उहाँले भन्नुभयो, ‘दुई वर्षभित्र काम सम्पन्न हुने गरी चक्रपथ विस्तारको काम अगाडि बढ्छ ।’
प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्र्तगत काठमाडौँ–४ धोवीखोला करिडोरस्थित सार्वजनिक जग्गामा उद्यान निर्माण गर्न रु ५० लाख, चुनदेवी मन्दिर परिसर स्तरोन्नतिका लागि रु २५ लाख, चण्डोलस्थित वंशीधर श्रीकृष्ण मन्दिर सबलीकरणका लागि रु १५ लाख र कामपा–२, ४, ५ भित्र हरियाली प्रर्वद्धन गर्न रु २३ लाख ८० हजारको योजनामा बजेट स्वीकृत भएको सिलवालले जानकारी दिनुभयो ।
प्रदेश सांसद अधिकारीले स्थानीय जनतासँग सल्लाह लिएर मात्र योजना तयार गर्ने बताउनुभयो । ‘जनताको भावना बुझेर काम गर्नुपर्छ ।’, उहाँले भन्नुभयो, ‘लामो समयपछि स्थानीय तहमा आएका जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेका छन् ।’
वडाध्यक्ष मोहन विष्ट वडाले चालेको अभियानले सकारात्मक सन्देश प्रवाह भइरहेको बताउँदै वडा नंं ४ लाई नमूना वडाको रुपमा विकास गरिने बताउनुभयो । ‘यस वडालाई हरियालीपार्क ‘हव’को रुपमा रुपान्तरण गर्छौ ।’, उहाँले भन्नुभयो । स्थानीयस्तरबाट प्राविधिक शिक्षामा जोड दिनुपर्ने, बजार मूल्यमा एकरुपता हुनुपर्ने, सन्तुलित योजना ल्याउनुपर्नेलगायतका समस्या वडावासीले राखेका थिए ।
प्रतिक्रिया