भक्तपुर
तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एकमहिने मेला सम्पन्न भएको छ । भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण ५ छालिङ गोकुलधामस्थित उक्त मेला सोमबार सम्पन्न भएको हो ।
मन्दिरको संरक्षकसमेत रहेका पुरीका अनुसा्र ३०० वर्ष पुरानो मन्दिर हो । दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो । यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ । १ सय पुरानो पुजाको थाली भने अझै पनि छ । मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।
स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले चिनिने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने तथा यसले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास रहेको छ ।
एकमहिने पुरुषोत्तम मेलामा सत्सग, प्रवचन, भजनलगायतको प्रतुतिसहित सोमबारदेखि एकमहिने मेला सम्पन्न भएको मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिएका छन् । मेला व्यवस्थापन गर्न सिङ्गो गाउँ लागेको बताउँदै स्थानीयस्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन्। भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा आगमन भएको थियो ।
यहाँको कुण्डमा स्नान गरेमा छालालगायत विभिन्न रोग नाश हुने जनविश्वास रहँदै आएको छ । मच्छेनारायण मन्दिर परिसरमा रहेको श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको यसै वर्ष स्थापना गरिएपछि यहाँको धार्मिक महत्व र आकर्षण अझै बढेको वडाध्यक्ष जयन्द्र खड्काले बताउछन् ।
ख्यो पुखमा एकमहिने मेला सम्पन्न
यसैगरी, भक्तपुर ६ स्थित अंचा पोखरी ख्यो पुखुमा लागेको एकमहिने मेला सोमबारदेखि सम्पन्न भएको छ । सोमबार नै एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सम्पन्न भएको हो ।
यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।








प्रतिक्रिया