७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्वालेटमै पसल राखेपछि बटुवालाई सास्ती


८ पुस २०७६, मंगलबार  

0
Shares


८ पुस ०७६, डोटी । सार्वजानिक शौचालय भवनको कोठामा किराना पसल सञ्चालन हुन्छ ? अचम्म नमान्नुहोला । दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा अहिले किराना पसल सञ्चालनमा रहेको छ ।
स्थानीय खन्टी केसीले सो शौचालय भवनको कोठामा पसल सञ्चालन गरिरहनुभएको छ । यसबाट यात्रु तथा बटुवालाई शौच गर्न समस्या भएको छ । सार्वजानिक भवनको कोठाबाट पसल सञ्चालन गर्दासमेत सम्बन्धित निकायले चासो देखाएको छैन । पिपल्लाका मदनबहादुर कामीले “सार्वजनिक शौचालयमा पसल खोलिएको छ, शौचालय व्यक्तिगत बनाउँदा अन्य बटुवा तथा यात्रुलाई समस्या भएको छ, बटुवाले जाताततै शौच गरिदिन्छन् ।”
डोटी उद्योग वाणिज्य सङ्घको पहलमा विसं २०७४ मा निर्माण भएको उक्त शौचालयलाई अहिले निजी बनाइएपछि स्थानीयवासी चिन्तित बनेका छन् । करीब रु छ लाख ३१ हजार लागतमा निर्माण गरिएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वसदस्य गणेशबहादुर साउदले जानकारी दिनुभयो ।
सार्वजनिक शौचालयमा तत्कालीन सुदूरपश्चिम खानेपानी तथा सुपरीवेक्षण कार्यालय दिपायल राजपुरले रु तीन लाख ६९ हजार सहयोग सहयोग गरेको थियो । सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले भन्नुभयो , “म अध्यक्ष भएको बेलामा शौचालय निर्माण भएको हो, पछि कसले कसलाई जिम्मेवारी दिए मलाई थाहा भएन ।”
सार्वजनिक शौचालयमा शौच गरेको रु पाँच तथा दिसा गरेको रु १० लिने व्यवस्था गरिएको थियो । व्यक्तिले आफ्नो निजी काममा मात्रै प्रयोगमा ल्याउन थालेपछि शौचालय प्रयोग गर्न कोही पनि आउँदैनन् ।
शौचालयमा खानेपानी कार्यालयले चौबीसै घण्टा पानी निःशुल्क दिँदै आइएको छ । किराना पसल सञ्चालक केसीले एक कोठामा बाख्रा तथा कुखुरा समेत राख्नुभएको छ । स्थानीयवासी महेश बोहराले भन्नुभयो, “सार्वजनिक शौचालय व्यक्तिगत बनाउन पाइँदैन भन्ने कुरा मात्रै उठ्छ तर हटाउन कसैले सकेका छैनन् ।”
त्यस्तै दिपायल सिलगढी नगरपालिकाले करीब १२ वर्ष पहिले पिपल्ला बसपार्कमा निर्माण गरेको सार्वजनिक शौचालय पनि प्रयोगबिहीन भएको छ । लाखौँको लागतमा निर्माण भएको दुईकोठे उक्त भवनमा सरसफाइ तथा पानी नभएका कारण प्रयोग गर्न समस्या हँुदै आएको शैलेश्वरी यातायातका कर्मचारी टेक शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शौचालयमा पानी हुँदैन र सफा गर्ने मान्छे पनि छैनन्, अनि कसरी प्रयोग गरुन् त शौचालय, नाम मात्रैका शौचालय खोलेर के काम ।”
यात्रुलाई लक्षित गरी पिपल्ला बसपार्कमा निर्माण गरिएको उक्त शौचालयको हेरचाह गर्ने र सफा गर्ने कर्मचारी नहुँदा बेवारिसे अवस्थामा रहेको स्थानीयवासी बताउँछन् । दिपायल सिलगढी नगरपालिका वडा नं ४ का वडाध्यक्ष वीरेन्द्र शाहले आफ्नो वडामा निर्माण भएका सार्वजनिक शौचालयमा कर्मचारी राख्ने तथा सरसफाइ गर्नका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शौचालयमा रेखदेख गर्ने कर्मचारी राख्ने तयारीमा छौँ, अब शौचालय चाँडै नै सबैको प्रयोगमा आउने बनाउँदैछौँ ।”
–––

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ११ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।