२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


झ्याप्प झ्याप्प विजुली गएपछि कुलमान चिन्तित


१२ पुस २०७६, शनिबार  

0
Shares

 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग ।

१२ पुस ०७६, काठमाडौं । लोडसेडिङ्ग अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्लो दिनमा अनियमित तरिकाले विद्युत् काटिने गरेको छ । यो विषय नेपाल विद्युत् प्राधिकरणका टाउको दुखाइको विषय बनेको छ । लोडसेडिङ्गको अन्त्यपछि पनि किन यस्तो अवस्थाको सिर्जना भयो होला भनेर आम मानिसले चासो व्यक्त गरिरहेका छन् ।
जाडोको समयमा विद्युत् प्रयोग पनि बढेको छ । माग बढ्दा केही स्थानमा स्वभाविकरूपमा ‘लोड’ बढेको र ‘लोड’ व्यवस्थापनमा केही समस्या आउँदा विद्युत् काटिने गरेको निष्कर्षमा प्राधिकरण पुगेको छ । सोही समस्या समाधानका लागि प्राधिकरणले काठमाडौँका प्रमुख सवस्टेशन र वितरण केन्द्रहरुमा प्राविधिक जनशक्ति परिचालन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा कार्यकारी निर्देशकसहितको प्राविधिक टोली परिचालित भएको हो ।
मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ । झ्याप्प भ्m्याप्प बत्ती काटिएको भन्ने गुनासोपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिई समस्या समाधानका लागि पहल थाल्नुभएको छ । उहाँले आज मात्रै काठमाडौँका बानेश्वर, टेकु, बालाजु, भक्तपुर, मुलपानीलगायत सवस्टेशनको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि पहल गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले बढी विद्युत् माग भएको क्षेत्रमा ट्रान्सफर्मर फेर्न, विद्युत् वितरण प्रणालीमा समस्या देखिए त्यसलाई तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौँ ग्रीडका प्रमुख विनोद लोहनीले समस्या देखिएका केही सवस्टेशनको स्थलगत निरीक्षण गरिएको र झ्याप्प झयाप्प बत्ती जाने समस्या समाधानका लागि पहल गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यकारी निर्देशक घिसिङले समस्याको उचित पहिचान गर्न, समाधानका लागि कुनै कसर बाँकी नराख्न, जनशक्ति नपुगेको भए माग गर्न तथा वितरण प्रणालीमा समस्या देखिएको भए त्यसलाई तत्काल समाधान गर्नसमेत निर्देशन दिनुभएको छ । “विशेषगरी जाडो बढ्दै जाँदा विद्युत् माग ह्वात्तै बढेका कारण पनि केही स्थानमा समस्या आएको छ”, लोहनीले भन्नुभयो “हामीले समस्या समाधानका लागि पहल गरेका छौँ । आज कार्यकारी निर्देशक पनि आफँै कार्यस्थलमा पुग्नु भई समस्याको निरुपणका लागि पहल गर्नुभएको छ ।” पछिल्ला दिनमा बानेश्वर, टेकु, बालाजु र पाटनमा केही समस्या देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् खपतका लागि आग्रह गरेलगत्तै विद्युत् माग बढेको छ । कार्यकारी निर्देशक घिसिङले माग व्यवस्थापनका लागि प्रयत्न गर्न र समस्याको उचित निरुपणका लागि सम्बन्धित सवस्टेशनका प्रमुख तथा ग्रीडका प्रमुखलाई निर्देशनसमेत दिनुभयो । प्रमुख लोहनीका अनुसार समस्या समाधानका लागि काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोकको वितरण केन्द्र तथा ग्रीडलाई समेत एकीकृत कार्ययोजनाका साथ काम गर्न कार्यकारी निर्देशक घिसिङले निर्देशन दिनुभएको छ ।
काठमाडौँको माग ४०० मेगावाट जाडोको समयमा काठमाडौँ उपत्यकामा विद्युत् माग बढेर ४०० मेगावाट पुगेको छ । गत वर्ष ३०० मेगावाटको हाराहारीमा रहेको विद्युत् माग १०० मेगावाटले बढेको हो । माग बढेका कारण लोड व्यवस्थापनमा समेत चुनौती थपिएको छ । माग बढ्नुलाई प्राधिकरणले पनि सकारात्मक रुपमा लिएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुने भएकाले माग बढाउन प्राधिकरणले यसअघि नै आग्रह गरिसकेको छ । चालू आवको अन्त्यसम्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजनाले विद्युत् उत्पादन शुरु गर्नेछ । जाडोको समयमा विद्युत् खपत बढेको छ । यसलाई व्यवस्थापन गर्दै जाने योजनामा रहेको प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले जनाएको छ । काठमाडौं उपत्यकामा बस्ती विस्तार भएको र उद्योग कल कारखानासमेत नियमित चलेकाले पनि माग बढेको निष्कर्षमा प्राधिकरण पुगेको छ । प्राधिकरणको प्रणालीमा हाल आफ्नै विद्युत्गृहबाट सात हजार ३२४ मेगावाट घण्टा विद्युत् उपलब्ध भइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट छ हजार ९६४ मेगावाट घण्टा, भारतबाट आठ हजार ६३५ मेगावाट घण्टा विद्युत् आपूर्ति भइरहेको छ । कूल माग २२ हजार ९५३ मेगावाट घण्टा रहेको छ । यस्तै प्राधिकरणका अनुसार ‘ट्रिपिङ’ भने शून्य छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ९ : १५ बजे