११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गर्भवतीलाई सुत्केरी गराउन नगरपालिकाको निम्तो


२१ पुस २०७६, सोमबार  

0
Shares


२१ पुस ०७६,जुम्ला । चन्दननाथ नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’वितरण कार्य शुरु गरेको छ । नगरपालिकाले गर्भवती जाँच र सुरक्षित सुत्केरी गराउन स्वास्थ्यचौकी तथा अस्पतालमा आउन भन्दै गर्भवतीलाई निमन्त्रणा कार्ड दिनथालेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिनुभयो ।
गर्भवतीलाई नियमानुसार चारपटक गर्भ जाँच गराउन र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थप उत्तरदायी बनाउनका लागि निमन्त्रणा कार्ड नै बनाएर वितरण गर्न शुरु गरिएको महतले जानकारी दिनुभयो । समयमै गर्भ जाँच गराउने, घरमै सुत्केरी हुने दर घटाउने, आमा तथा बालबालिकाको स्वास्थ्य ग्यारेण्टी गर्ने उद्देश्यका साथ गर्भवतीलाई निमन्त्रणा कार्ड प्रदान गरिएको हो ।

नगरपालिका क्षेत्रभित्रका सबै गर्भवतीका घरमै पुगेर कार्ड वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार निमन्त्रणा कार्डले गर्भवती र तिनका अभिभावकलाई समयमै जाँच गराउन तथा सुत्केरी गराउन स्वास्थ्य संस्थामै लैजान दबाब पुग्नेछ । स्वास्थ्य निरीक्षक महतका अनुसार पहिलो चरणमा नगरपालिकाका वडा नं ६, ७, ८ र ९ का ९५ गर्भवतीलाई निमन्त्रणा कार्ड वितरण गरिएको छ । निमन्त्रणा कार्डमा एकातिर गर्भवतीको नाम, ठेगाना र सुत्केरी हुने समय उल्लेख गरिएको छ भने अर्को्तिर गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, अपनाउनुपर्ने सावधानी तथा पोषणयुक्त खानाबारे उललेख गरिएको महतले बताउनुभयो ।
नगरपालिकाका प्रायः गरी अस्पतालमा बच्चा जन्माउने गर्ने तर पनि छुट नहोस् र शत प्रतिशत आमा र बालाबालिकाको जीवन सुरक्षा होस् भन्ने उद्देश्यका साथ अभियान थालिएको नगर उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक भएकाले प्रायः गर्भवती सुत्केरीका लागि आउने गर्छन् । कोही नछुटन भन्ने उद्देश्यले थप दबाब र जानकारी कार्यक्रम अगाडि बढाइएको बताइएको छ । (तस्बिर संग्लन छ )

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : १० बजे