२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बेलायतबाट एक लाख पर्यटक पठाउने घोषणा


२४ पुस २०७६, बिहिबार  

0
Shares

लन्डन — नेपाली दूतावासले भ्रमण वर्ष २०२० मा बेलायतबाट एक लाख पर्यटक पठाउने घोषणा गरेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियान सफल बनाउन संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले भ्रमण वर्षमा बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने दूतावासको योजना सार्वजनिक गरेका हुन् ।

‘हाम्रो त्यति धेरै महत्वाकांक्षी योजना पनि होइन्, सबैले एक एकजना आफ्नो बेलायती साथीलाई नेपाल पठाए एक लाख होइन तीन लाखसम्म पर्यटक पठाउन सकिने मेरो विश्वास छ’, राजदूतले भने ।
सन् २०१९ मा बेलायतबाट करिब ६५ हजार बेलायती नेपाल घुम्न गएका बताइएको छ, यद्यपि यसको आधिकारिक तथ्यांक आउन बाँकी छ । दूतावासमा शनिबार आयोजित शुभारम्भ समारोहमा दूतावासले वर्ष २०२० का लागि विभिन्न योजना सार्वजनिक गरेको छ ।

राजदूत सुवेदीले बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०४ वर्षे इतिहासमा पहिलोपटक बेलायतमा आगामी मे २५ दिउँसो हुन लागेको दुई देशका राष्ट्रिय फुटबल टिमबीच मैत्रीपूर्ण खेल पनि पर्यटन वर्ष अभियानकै एक हिस्सा भएको बताए ।

बेलायत र नेपालका विभिन्न संघसंस्थाबीच भगिनी सम्बन्ध स्थापना गर्ने, बेलायतका चारवटै राज्यमा पर्यटन प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रम गर्ने, हरेक नेपाली रेस्टरेन्ट र संघसंस्थाका बृहत् कार्यक्रममार्फत भ्रमण वर्षप्रचार प्रसारलाई तीव्रता दिइने राजदूतको योजना छ ।

सुवेदीले दूतावासले भ्रमण वर्ष केन्द्रित गर्दै भिजा सहजीकरण र संयुक्त अधिराज्यका विभिन्न सहरमा आफ्नो घुम्ती सेवा सुरु गरेको पनि जनाए । दूतावासले १५ मिनेटभित्र भिजा र घर घर गएर पनि द्रुतसेवा दिने राजदूतको दाबी छ ।

भ्रमण वर्ष अभियानलाई सार्थक सहयोग पुर्‍याउने उद्देश्यसहित राजदूत सुवेदीको अध्यक्षतामा गत १९ जनवरी २०१९ मा नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मूल समिति यूके र यस अन्तर्गत विभिन्न २२ वटा समिति गठन भएको थियो ।

कार्यक्रममा २२ वटै समितिका संयोजक र उपसंयोजकले अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गर्दै भ्रमण वर्ष सफल बनाउन आ-आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एनआरएनए यूकेसहित समस्त नेपाली डायस्पोराको सामूहिक प्रतिबद्धताले दूतावासको योजना साकार हुने विश्वास उपनियोग प्रमुख शरदराज आरनको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  १ : १७ बजे