१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाली नोटमा शाहको तस्वीर राख्न माग


२७ पुस २०७६, आइतबार  

0
Shares

सन्दर्भ तस्विर ः कम्प्युटर मार्फत सम्पादन गरिएको ।

२७ पुस ०७६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अहिले अवमूल्यन हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले शाहको दूरदर्शिता, साहसिक नेतृत्व र नेपाली जनताको साझा प्रयासबाट मुलुकको एकीकरण सम्भव भएको बताउनुभयो ।
एकीकरण अभियानले हामी आफूलाई नेपाली हौँ भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएकाले उहाँको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “विसं २०७४ मा देउवा सरकारले पृथ्वीजयन्तीलाई एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिएको थियो । राष्ट्रिय एकतालाई बलियो बनाउन सरकारले त्यसलाई निरन्तरता दिनुपर्छ, संसारभर राष्ट्रनिर्मातालाई सम्मान गर्ने चलन छ ।”
दोस्रो जनान्दोलनपछि शाहको शालिक तोड्ने र इतिहासको अपव्याख्या गर्ने कार्य हुन लागेकाले पार्टीले पृथ्वीजयन्तीका दिन शुभकामना कार्यक्रम शुरु गरेको स्मरण गर्दै अध्यक्ष थापाले नेपाली नोटमा शाहको तस्वीर अङ्कित गर्न माग गर्नुभयो । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता एवं सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता थियो । पार्टीले यही पुस २६ देखि २८ गते तीन दिनसम्म पृथ्वीजयन्तीलाई उत्सवका रूपमा मनाउन देशभरका सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
–––

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ८ : १५ बजे