१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज तामाङ समुदायमा सोनाम ल्होसार मनाउदै


११ माघ २०७६, शनिबार  

0
Shares

११ माघ ०७६, ललितपुर । तामाङ समुदायको पर्व आज शनिबार सोनाम ल्होछार २८५६ शनिबार मनाइँदै छ । यस पर्वलाई उनीहरूले नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । शनिबारबाट सुँगुर वर्ष (फाक लो) सकिएर मुसा वर्ष (जिवा लो) सुरु भएको छ ।

राष्ट्रिय सोनाम ल्होछार २८५६ बृहत् मूल समारोह समितिले राजधानीको टुँडिखेलमा एक औपचारिक कार्यक्रम गरेको छ । विशेष गरी १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने परम्परा छ ।

तामाङ समुदायले हरेक माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गर्दछन् । ल्होछारको अवसरमा टुँडिखेलमा एक सांस्कृतिक कार्यक्रम हुँदै छ । कार्यक्रममा तामाङ वेशभूषा झल्कने वस्त्र तथा टोपी लगाएर यही समुदायका मानिस भेला हुँदै छन् । तामाङ भाषामा ल्होको अर्थ नयाँ र सारको अर्थ वर्ष भन्ने हुन्छ । ल्होछारका अवसरमा साथीभाइ तथा आफन्त भेला भएर मीठामीठा परिकार बनाएर खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्छन् । सोनाम ल्होछारका अवसरमा साता दिनअघि नै विभिन्न कार्यक्रमहरू भइरहेका छन् । यो ल्होछारका अवसरमा हुने र भइरहेका कार्यक्रमलाई मूल आयोजक समितिसहित तामाङ पत्रकार संघ, नेपाल तामाङ लामा घेदुङ, भाषा विभाग नाङ्साल÷डाजाङ, विद्यार्थी घेदुङ ताम्सालिङ संघर्ष समिति, राष्ट्रिय महिला घेदुङ बौद्ध तामाङ समाज, ल्होज्याङ तामाङ, संस्कृति घेदुङ, राष्ट्रिय संस्कृति घेदुङ कलाकार संघले साथ दिएका छन् ।

त्यस्तैगरि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम, दीपावली, सांस्कृतिक झाक्री कार्यक्रम, तामाङ कविता प्रतियोगिता, ल्होछारसम्बन्धी अन्तक्र्रियालगायतका कार्यक्रम गरिएको आयाजकले जानकारी दिएको छ ।

ल्होछारको अवसरमा राजधानीको टुँडिखेलमा हुने विशेष कार्यक्रममा विभिन्न वेशभूषा, तामाङ संस्कृति झल्कने झाँँकी, विभिन्न परिकार तथा तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेटका स्टलहरू राखिने तयारी छ । शनिबार बिहान साढे ११ बजे शान्ति बाटिकाबाट एक विशेष सांस्कृतिक (याली निकालिँदै छ ।

पर्वको अवरमा मीठामीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ । पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सीलगायत खानेकुरा पनि खाइन्छ ।

‘ता’ भन्नाले घोंडा अनि ‘माङ’ भन्नाले लडाकूहरू भन्ने तामाङ समुदायबारे लेखिएका विभिन्न पुस्तकहरूबाट बुझिन्छ । यस अर्थमा घोडचढीमा निपुण साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रणकौशलका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलित छन् ।

यसरी, नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायलगायत उत्तर छिमेकी मुलुक चीनसहितका बौद्धमार्गीहरूको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई खुसीयालीका साथै नयाँ वर्षका रूपमा मनाउने गरिन्छ ।

ल्होसार नेपालका हिमाली भेगका ठूलो जनसंख्याले मनाउने महत्वपूर्ण चाड हो । खासगरी शेर्पा, तामाङ, गुरुङ र भोटेले नयाँ वर्षको रूपमा मनाउने गर्छन् । ल्होसार मनाउने प्रचलन चीन(तिब्बत) तिरबाट नेपालमा भित्रिएको मानिन्छ । ल्होसार तीनथरिका रहेका छन् । तिनमा तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार रहेका छन्  ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १२ : ४८ बजे