१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मन्दिर बन्यो तर कङ्केश्वरी देवी टहरामै !


१३ माघ २०७६, सोमबार  

0
Shares

पूर्णप्रसाद मिश्र

१३ माघ ०७६, काठमाडौं(रासस) ः पाँच वर्ष अघिको भूकम्पले भत्किएको कङ्केश्वरी मन्दिर पुनःनिर्माण भएको आठ महीना बितेको दावी गरिए पनि चामुण्डा देवीको पूजा भने अझै इशान कोणको कुनामा बनेको टहरामै भइरहेको छ ।

पुरातत्व विभाग र निर्माण व्यवसायीले मन्दिर पुनःनिर्माण सम्पन्न भएको आठ महीना भइसक्यो भनिरहेका छन् । भू्कम्पपछि बाहिर पूजा भइरहेको देवीलाई मन्दिरभित्र राखिएको छैन ।  विसं २०७३ चैत ५ गते पुनःनिर्माण शुरु भएको मन्दिरको काम २०७६ जेठ २१ गते सम्पन्न भएको विभागका इञ्जिनीयर पूर्णबहादुर श्रेष्ठले बताउनुभयो ।

“मन्दिर पुनःनिर्माण समयमै सकिएको हो, म्याद थप पनि गरिएन, मन्दिर पुनःनिर्माणको लागत रु तीन करोड १४ लाख थियो, रु तीन करोड १२ लाखमा तुलसी÷राज जेभीले ठेक्का पाएको थियो” – उहाँले भन्नुभयो ।

मन्दिर पुनःनिर्माण गरेको तुलसी÷राज जेभीका प्रबन्ध निर्देशक राम साह देवीको मूर्तिलाई मूल मन्दिरमा सार्न क्षमा पूजा गर्न आफूले बजेट दिन नसक्दा टहरामै पूजा भइरहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “मन्दिर क्षेत्रमा १७ वटा जति समिति छन्, पुनःनिर्माणका क्रममा गोदामघरमा सामान राखेको भाडा महीनामा रु २० हजार तिर्नुप¥यो, एउटा समितिले यो गर भन्छ, अर्कोले त्यो भत्काऊ भन्छ, यसले गर्दा काम गर्न पनि गा¥हो भयो, क्षमा पूजा र भोजका लागि करीब डेढ लाख खर्च लाग्छ, दिने बजेट छैन भन्दा देवी नसारिएको हो ।”

विभागले ठेक्का आह्वान गर्नुअघि नै स्थानीयवासीले पुनःनिर्माण समिति गठन गरी सामुदायिक स्तरबाट मन्दिर बनाउन खोजेका थिए । समितिका अध्यक्ष राजुराज जोशी स्थानीयवासीसँग विभागले मतलब नै नराखी ठेक्का आह्वान गरेको बताउनुहुन्छ ।

“विभागले ठेक्का छनोट गरी पठाएको निर्माण व्यवसायीले क्षमा पूजा गरी मन्दिर भत्काएर काम शुरु गर्न नसकेपछि समितिलाई गुहा¥यो, हामीले सहजीकरण गरी काम अघि बढाउन सहयोग गरेका हौँ,” उहाँले भन्नुभयो ।

पुनःनिर्माणका क्रममा निर्माण व्यवसायीले मन्दिरको ड्रइङ डिजाइन नदेखाएको, पुनःनिर्माण स्थलमा सूचना पाटी समेत नराखेको समितिले जनाएको छ । पुरानो स्वरुप अनुसार मन्दिर बनेन भन्ने गुनासो बढेकाले जाँच गर्दा त्यस्तो नदेखिए पुनःनिर्माण दोहो¥याउन लगाउने अध्यक्ष जोशीले बताउनुभयो ।

पुनःनिर्माणका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजनका लागि पूर्वमन्त्री नवीन्द्रराज जोशीमार्फत समितिले भूमिका खेलेको उहाँले सुनाउनुभयो ।

मन्दिरको आकारमा घटबढ !

विभागको हेलचेक्र्याइँका कारण भूकम्पले क्षतिग्रस्त कङ्केश्वरी मन्दिर पुनःनिर्माण हुँदा पहिलेको भन्दा १४ इञ्च चौडाइ घटेको स्थानीयवासीको गुनासो छ ।

काठमाडौँ महानगरपालिका वडा नं १९ स्थित विष्णुमती किनारमा रहेको मन्दिरका पुजारी, नाइके, स्थानीयवासी लगायतले पहिलेकै स्वरुपमा मन्दिर पुनःनिर्माण हुनुपर्ने माग गर्दा पनि विभागले ठेक्का लगाएका निर्माण व्यवसायीले मानेनन् । विभागका प्रविधिज्ञ मन्दिर पुनःनिर्माणका क्रममा नभेटिएको समेत स्थानीयवासीको दुःखेसो छ ।

विसं २०७२ वैशाख अघि नै दक्षिणतिर ढल्किएको मन्दिरमा भूकम्पले क्षति भएपछि चामुण्डा देवीको मूर्ति बाहिर टहरामा राखी पूजा शुरु गरिएको थियो । पहिलेकै स्वरुपमा मन्दिर पुनःनिर्माण नभएपछि देवीको पूजा भने पुनःनिर्माण सम्पन्न भएको आठ महीना बित्दा समेत टहरामै भइरहेको छ । मन्दिरको चौडाइ १४ इञ्चसम्म घटाइएकाले दुई कुनामा पहिले राखिएका ऐना समेत नअटेको हाल मन्दिरमा पूजा समेत गर्दै आउनुभएका रेखालु गोविन्द खड्काले बताउनुभयो ।

“पहिले राखिएको ऐना पुनःनिर्माण सकियो भनेपछि राख्न खोज्दा अटेन, ऐना पनि टहरैमा राखिएको छ, मन्दिर भत्काउनुअघि तस्वीर समेत लिइएन, मन्दिरको चौडाइ घटाएपछि छाएको पाता काटेर छाना छाइयो, काटेको एक बोरा पाता गोदाममा राखिएको छ”–उहाँले भन्नुभयो ।

चौडाइ घटाइएकै कारण मन्दिरका चार कुनामा राखिएको अर्ना (जङ्गली राँगा)को सिङ्ग समेत नअटाएर गोदाममै थन्क्याइएको छ । पुरातात्विक महत्वको मन्दिर बनाउने बेलामा मन्दिर पुनःनिर्माण समिति र विभागले समेत ध्यान नदिँदा पुर्खाले दिएको नासो भावी पुस्तालाई हस्तान्तरण गर्न नसकिने अवस्थामा पुगेको स्थानीयवासीको गुनासो छ ।

पुनःनिर्माण गर्नुअघि मन्दिरको इशान कोणमा रहेको घण्ट अड्याउने ढुङ्गाको बीचबाट छिरेर रङ्गरोगन गर्न सकिने ठाउँ भएकामा अहिले हात छिराउन समेत अप्ठ्यारो हुने ठाउँ मात्र बाँकी रहेको मन्दिरका नाइके लाहुरे देउलाले बताउनुभयो । निर्माण व्यवसायीले चौडाइ घटाएर पहिलेको भन्दा एक फिट उचाइ बढाएको उहाँले सुनाउनुभयो ।

“मन्दिर पहिलेकै स्वरुपमा नबनाई अनियमितता गरेकाले विभागलाई निर्माण व्यवसायीको भुक्तानी रोक्न भनेका छौँ,” मन्दिरका नाइके देउलाले भन्नुभयो । तर विभागले पुनःनिर्माणको भुक्तानी गरिसकेको जनाएको छ ।

मन्दिरको सत्तलमा सामान राखेको भाडा चामुण्डा परिवार नामक गैरसरकारी संस्थाले लिएको र उक्त संस्थामाथि अनियमितता गरेको आरोप लागेको उहाँले सुनाउनुभयो । महानगरपालिका वडा नं १९ का अध्यक्ष शशीलाल श्रेष्ठ मन्दिरको चौडाइ पहिले भन्दा घटाइएको बताउनुहुन्छ । “मन्दिरको चार वटै कुनामा राखिएको सिंहले पनि मन्दिरको चौडाइ घटेको पुष्टि गर्छ, निर्माण व्यवसायीले विभागले दिएको डिजाइन अनुसार नै काम गरेको भने पनि मन्दिरको स्वरुप पहिलेभन्दा बिग्रिएको छ,” उहाँले भन्नुभयो ।

मन्दिरको उत्तरतिर दुवै कुनामा राखिएका ढुङ्गामा कुँदिएका सिंहको मूर्ति मिलेको छैन । दक्षिणतिरको भने मिलेको स्थानीयवासीले सुनाए । मन्दिर पुनःनिर्माणका क्रममा विष्णुमती किनार अर्थात् मन्दिरको पश्चिम भागमा रहेको ऐतिहासिक पीपलको रुख समेत काटियो । रुख काट्न आदेश दिनेको भने दुर्ग्ति भएको नाइके देउलाले बताउनुभयो ।

मन्दिर पुनःनिर्माणको शुरुदेखि नै आयोजना सूचना पाटी समेत राखिएन । यसैले मन्दिर पुनःनिर्माणका लागि रु तीन करोडमा ठेक्का दिइएको भनिए पनि वास्तविक मूल्य कति हो भन्ने थाहा नभएको स्थानीयवासीले बताए ।

विभागका प्रवक्ता रामबहादुर कुँवर मन्दिरको पुरानो स्वरुप पुनःनिर्माणका क्रममा नबिगारिएको बताउनुहुन्छ । पुरातात्विक महत्वका सम्पदा पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्ने विभागको नीति रहेकाले त्यसभन्दा तलमाथि हुन नसक्ने उहाँको भनाइ थियो ।

मुख्य शहरमा कङ्केश्वरीलाई अष्टमात्रिकामध्ये एक मानिन्छ । राजधानीको मुख्य शहरमा रहेका कङ्केश्वरी, भद्रकाली, इन्द्रायणी, तीनधारा पाठशालासँगैको पासीको अजिमा, नेपाली सेनाको मुख्यालयसँगैको फिपुको अजिमा, टङ्केश्वरको तकती अजिमा, नइ अजिमा, नारायणहिटी दरबारभित्रको अजिमालाई अष्टमात्रिकाका रुपमा पूजिन्छ । घोडेजात्राका बेलामा कङ्केश्वरीको जात्रा हुन्छ ।

पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले भूकम्प प्रभावित ३२ जिल्लामा क्षति भएका ९२० सम्पदामध्ये ३८९ को पुनःनिर्माण सम्पन्न भएको बताउनुभयो ।

उहाँका अनुसार हाल १५० सम्पदा पुनःनिर्माण भइरहेको छ र चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५९.५५ प्रतिशत सम्पदा बनाइसक्ने लक्ष्य छ । हनुमानढोका दरबार क्षेत्रका ५४ सम्पदा क्षतिग्रस्त भएकामा २७ को पुनःनिर्माण सम्पन्न भएको छ र हाल १२ को पुनःनिर्माण भइरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : ४२ बजे