१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाँचखालमा चितुवाको आक्रमणबाट बीस घाइते


२० माघ २०७६, सोमबार  

0
Shares

२० माघ ०७६, पाँचखाल । पाँचखाल नगरपालिका–६ स्थित जैसिडिही र गणेशस्थान गाउँका २० भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । आज जैसिडिहीमा र हिजो बेलुका गणेशस्थानका दुई जनालाई आक्रमण गरी घाइते बनाएको हो ।

चितुवाले आज खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई आक्रमण गरेपछि सोही गाउँमा बारीमा स्याउला लिन जानुभएका एक महिलालगायत अन्यलाई क्रमैसँग दिउँसो आक्रमण गरेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खेतबारीमा काम गरिरहेका र घरआँगनमै भएकालाई चितुवाले आक्रमण गरी ढाडमा चोट पु¥याउने र केहीको कान लुछेको हो । श्रेष्ठलाई आजै उपचारार्थ टेकु अस्पताल लगिएको छ भने अन्य घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ । एउटै चितुवाले मानिसलाई आक्रमण गरिरहेको हुनसक्ने दुलालले बताउनुभयो । उहाँले घाइतेहरुको खोजी कार्य पनि भइरहेको बताउनुभयो ।

यसैबीच २० भन्दा बढी मानिसलाई आक्रमण गरेपछि स्थानीयले आज अपराह्न चितुवालाई मारेका छन् । क्रमैसँग जैसिडिहीका बासिन्दालाई आक्रमण गरी गम्भीर घाइते बनाउन थालेपछि स्थानीयले चितुवालाई मारेको वडाध्यक्ष दुलालले बताउनुभयो ।

यसअघि भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा रहेका छन् । भुम्लु गाउँपालिका–७ टारका हरिहर उप्रेतीले चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताउनुभयो ।

गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको र अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत शुक्रबार राति चितुवाले स्थानीय लक्ष्मी रिजालको दुई वटा बाख्रा मारेको थियो । टार आसपासमा रहेका कुकुरलाई समेत चितुवाले मारेपछि स्थानीय बासिन्दा त्रसित रहेको उप्रेतीले बताउनुभो । उहाँले भन्नुभयो, “चितुवाले आतङ्क फैलाएपछि मानिसलाई समेत आक्रमण गर्नसक्ने भएकाले साँझदेखि घर बाहिर निस्कने गरिएको छैन ।”

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ११ : १९ बजे