३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वालमैत्री गाँउ घोषणा गर्दै सञ्चारमन्त्री बाँस्कोटा


२६ माघ २०७६, आइतबार  

0
Shares

२६ माघ ०७६, पनौती । पनौती नगरपालिका–१ रयाले पर्खालचौरमा शनिबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नगरपालिका वडा नं १ लाई बालमैत्री उद्घोष गर्नु भएको छ । समारोहमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न भूमिका खेल्ने सहजकर्ता, बालसमूह, बालक्लब र सहयोगी निकायलाई सम्मानका साथै जिल्ला समन्वय समितिको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो । साथै पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले नगद रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।
प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले विकासको पहिलो फड्को सडकबाट शुरु गरेको उल्लेख गर्दै ग्वार्को–शङ्खु दाहालटार र दाहालटार–कटुञ्जे चौकीडाँडा सडकखण्ड निर्माण अगाडि बढेको जानकारी दिनुभयो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले जिल्लाका १३५ वडामध्ये पाँचौँ नम्बरमा पर्न सफल भएको भन्दै वडा र नगरले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न राम्रो काम गरेको हुँदा अगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।”
आयोजित वडा नं १ लाई ‘बालमैत्री स्थानीय शासन वडा घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो जग्गाको छानबिन सरकारले गरेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सीआइबीले गरेको र बाँकी अदालतले फैसला गर्ने भएकाले दायराभित्र जो पर्छ त्यही जाने भन्नुभयो ।
उहाँले भन्नुभयो, “लड्यो भने रामराम, नलडेको राम्रो भनेर सरकारले उहिल्यैदेखि भन्दै आएको हो, अहिले आएर कोही लड्यो त हामीले रामराम भन्ने हो ।” मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रष्टाचार गर्नुभएन, जनताको सम्पत्ति कहीँकतैबाट दुरुपयोग नहोस् ।”
सुख र समृद्धि प्राप्त गर्न गर्भदेखि नै लगानी गर्न आवश्यक रहेकामा जोड दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भविष्यमा मानवजातिलाई पृथ्वीमा जीवन्त बनाइराख्ने र प्रकृतिरहेसम्म जोगाइराख्ने भावी सन्तति भएकाले बालपुस्तालाई सही दिशानिर्देश गर्ने काममा लाग्न आम अभिभावक सचेत बन्न आग्रहसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “एउटा बालक राम्रो हुनुको अर्थ एउटा परिवार राम्रो हुनु हो, लाखौँलाख बालबालिका राम्रो हुनुको अर्थ सिङ्गो देश राम्रो हुनु भएकाले लगानी बालबालिकाको लागि गर्न आवश्यक छ ।” मन्त्री बाँस्कोटाले उत्पादनमा आम नागरिकलाई लाग्न आग्रह गर्दै कृषि उत्पादन, पर्यटन, पूर्वाधार र ऊर्जालगायतका क्षेत्रमा व्यापक काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं १ भित्रका विभिन्न विद्यालयका बालक्लबका विद्यार्थीले गीत तथा नृत्य प्रदर्शन गरेका थिए । यसअघि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२, २ र ३ तथा धुलिखेल नगरपालिका वडा नं १० बालमैत्री स्थानीय शासन वडा घोषणा भएको थियो ।
ज्येष्ठ नागरिक सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले पाँचखाल नगरपालिका वडा नं ५ को नवनिर्मित कार्यालय भवनको शनिबार उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले वडाका १८० ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । पिपलडाँडामा आयोजित सो समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सिकेका ज्ञान र सीप नयाँपुस्तालाई हस्तान्तरण गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । पुरानो संस्कृति र सभ्यतालाई जोगाएर राखेको योगदानलाई नयाँपुस्ताले संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री बाँस्कोटाले खानेपानीको समस्या समाधान गर्न आवश्यक बजेट विनियोजन भई शहरी विकास मन्त्रालयबाट सञ्चालित सबैभन्दा ठूलो योजनाका रुपमा रु दुई अर्ब ११ करोडभन्दा माथिको काम सिङ्गो नगरपालिकामा सञ्चालन भइरहेको बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक रामचन्द्र सुवेदीले वडाबाट नै सबै सेवा लिन पाउने भएकाले नगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ८ : ४७ बजे