२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महायज्ञबाट रङ्गशालालाई ३५ करोड सङ्कलन


२७ माघ २०७६, सोमबार  

0
Shares

नारायण अधिकारी

२७ माघ ०७६, चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी रु ३५ करोड बढी सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज सोमवार अन्तिम दिन थप रु २० करोड सङ्कलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई रु ५५ करोड सङ्कलन हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

रङ्गशाला सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक सङ्कलन गरी टोल, आमा समूह, सरकारी र गैरसरकारी कार्यालय, स्थानीय तह, सामूदायिक वन, सहकारी, क्लब, स्वास्थ्य संस्था, शिक्षण संस्थाले रकम सङ्कलन गरी महायज्ञमा बुझाएका छन् ।

मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार हालसम्म सबैभन्दा बढी वाग्मती प्रदेश सरकारले रु १५ करोड उपलब्ध गराउने महायज्ञमा घोषणा गरेको छ । त्यस्तैगरि जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख घोषणा गरेको छ भने नवलपरासीको गैँडाकोट नगरपालिकाले रु एक करोड बराबर सहयोग गर्ने घोषणा गरेको छ ।
त्यस्तैगरि भरतपुर महानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले रकम घोषणा गरेका छन् । चुकेका अनुसार आज प्रदेश सरकार र भरतपुर महानगरपालिकाले रकम थप गरी घोषणा गर्ने कार्यक्रमा रहेको छ ।

निजी क्षेत्रबाट सबैभन्दा बढी गोल्डमाइण्ड विजनेश समूहका अध्यक्ष वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा दान गर्नुभएको छ । त्यस्तैपोल्ट्री व्यवसायीहरुले रु एक करोड घोषणा गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवन, चेम्बर अफ कमर्स, उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले महायज्ञमा रकम सहयोग गरेका छन् ।

महायज्ञका वाचन दिनबन्धु पोखरेलले आफूले पारिश्रमिक नलिने घोषणा गर्दै स्वयम् सहयोगको घोषणा गर्नुभएको छ । जसले अरूलाई पनि उत्साहित बनाएको छ । जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसदहरुले सहयोग गरेको कोषाध्यक्ष शङ्कर कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुर महानगरभित्रका धेरैले धेरथोर महायज्ञमार्फत रङ्गशालालाई सहयोग गरेका छन् ।” जिल्लाका अन्य स्थानीय तहमा पनि गाउँगाउँबाट रकम सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

हालसम्म नगदसँगै रु ४५ लाख ७९ हजार २०० बराबरको धानसमेत सङ्कलन भएको छ । सहकोषाध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा यति धेरै उत्साहका साथ महायज्ञ भएको बताउनुभयो ।”

महायज्ञ स्थल नजिकै रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । रङ्गशाला निर्माणमा पनि स्वयंसेवी रुपमा काम गर्नेहरु दिनहुँ आउने गरेका छन् । महानगर प्रमुख रेनु दाहालले चितवनवासीमात्रै नभएर धेरैले रङ्गशालालाई अपनत्व ठानेकै कारण महायज्ञमार्फत सहयोग गर्न सकारात्मक भएर लागेको बताउनुभयो । उहाँले रङ्गशाला निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका खेल यहाँ हुने बताउनुभयो ।

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माण गर्न करिब रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । जनस्तरबाट निर्माण हुन लागेको देशकै यो पहिलो रङ्गशाला हो । रासस

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ३ : ३८ बजे