२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सासंद नआएपछि प्रतिनिधि सभा स्थगित


१५ फाल्गुन २०७६, बिहिबार  

0
Shares

१५ फागुन ०७६, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाले गणपूरक सङ्ख्याका बारेमा नियमापत्ति गर्नुभएको थियो ।
नियमापत्तिपछि सभामुखले गणपूरक सङ्ख्या यकिनका लागि सङ्घीय संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । सचिवालयले ३ मिनेट जनाउ घण्टी बजाएर सांसद सङ्ख्या यकिन गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना हुनुपर्नेमा जम्मा ५८ सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो ।
नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा हाल कायम सांसद सङ्ख्याको एक चौथाइ उपस्थिति हुनुपर्छ । एक चौथाइ सांसदको उपस्थिति नदेखिएपछि सभामुखले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिंँदै बैठक स्थगन गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १८ गते अपराह्न १ बजे बस्नेछ ।
–––

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ७ : ५१ बजे