
२० फागुन ०७६, चन्द्रागिरि काठमाडौं । काठमाडौँ प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा भएको छ । चन्द्रागिरि नगरपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा आज ‘साक्षर नगरपालिका’ घोषणा गरेको हो ।
सो अवसरमा शिक्षामन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । “कक्षा १२ अध्ययन गर्नुपूर्व नै सीपमूलक शिक्षा दिनसके विद्यार्थीले १२ कक्षा उर्तिण गरेपछि रोजगारको अवसर पाउन सक्छन्”, उहाँले भन्नुभयो ।
शिक्षामन्त्री पोखरेलले विदेशमा सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै भए पनि नेपालमा भने क्रमशः घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयले अङ्ग्रेजी शिक्षामा जोड दिनुपर्ने उहाँको भनाइ थियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र बसोबास गर्ने ९६.४७ प्रतिशत जनता साक्षर भएको बताउनुभयो । नगरपालिकाले साक्षर नगरपालिका घोषणाका लागि सामुदायिक सिकाइको अवधारणाअनुुसार कक्षा सञ्चालन गरेको थियो ।
नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले चन्द्रागिरि नगरपालिकाभित्र जम्मा ८० विद्यालय रहेको बताउनुभयो । कूल १५ वडा रहेको चन्द्रागिरिमा सामुदायिक २४, संस्थागत ४६, गुरुकुल आश्रम दुई, अनौपचारिक तथा वैकल्पिक चार, विशेष शिक्षा विद्यालय दुई र क्याम्पस दुई रहेका छन् ।








प्रतिक्रिया