त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी शुक्रबार प्रम निवास बालुवाटार फर्कँदै । यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएका प्रम ओलीको मिर्गौला प्रत्यारोपण फागुन २१ गते भएको थियो । तस्वीरः प्रदीपराज वन्त/रासस
३० फागुन ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो । पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ । यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा उहाँको पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया