३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


उहान ल्याबका प्रमुख भन्नुहुन्छ –प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन


१२ जेष्ठ २०७७, सोमबार  

0
Shares

Chemical samples. Close up of test tubes being used by a smart skilled scientist in the chemical lab

न्यूयोर्क, ११ जेठ ०७७ (रासस–एपी) –– कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गर्नु भएको छ ।

निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, “इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं । हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मंत्री माइक पोम्पेओले उहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहनु भएको छ ।

धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोनाभाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन् । यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरुको भनाई छ ।

पछिल्ला दिनहरुमा यस भाइरसले एसिया र विश्वका अन्य भागहरूमा प्रभाव सिर्जना गर्न थालेको छ । चीनमा आइतबार तीन जनामा संक्रमण देखिएको छ भने चीनमा कोविड–१९ को उपचार गराइरहेका बिरामीको संख्या ७९ जना मात्र छ ।

दी न्युयोर्क टाइम्सले आइतवारको पूरै पहिलो पृष्ठमा महामारीमा ज्यान गुमाउने व्यक्तिहरूको नामको लामो सूची छापेको छ । अमेरिकामा करिब एक लाखको मृत्यु हुन लागेको र यो एक अपूर्व नोक्सान हो भन्दै उक्त अखबारले विशेष महत्वका साथ कतिपय निधन भएका व्यक्तिको जीवनी छापेको छ ।

“यो फगत नामावली मात्र होइन । उनीहरु हामीजस्तै मानव थिए,” उपशीर्षकमा भनिएको छ ।

अष्ट्रेलियामा अधिकारीहरूले ६० लाख बासिन्दाहरूले मोबाइल एप डाउनलोड गरेका बताएका छन् । यस एपको मद्दतबाट स्वास्थ्य अधिकारीहरूलाई कोरोनाभाइरस संक्रमण पत्ता लगाउन सहयोग पुग्नेछ । संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोविड–सेफ एपको अनुप्रयोगले अस्ट्रेलियामा कोरोनाभाइरस नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

संयुक्तराज्य अमेरिकामा सावधानीपूर्वक राज्यहरु एकपछि अर्को खोल्नेक्रमलाई निरन्तरता दिइएको छ । वासिङ्टनको स्पोकेनमा रहेको एउटा पास्ता कम्पनीले आफ्नो प्लान्टमा कोरोना फैलिएको जनाएको छ भने अलास्का बेसबल लिगले आफ्नो ग्रीष्मकालीन प्रतियोगिता रद्द गरेको छ ।

मेमोरियल डे सप्ताहान्तका अवसरमा ट्रम्पले शनिबार गल्फ खेल्नु भएको थियो । उहाँले अमेरिकी राज्यहरूलाई लकडाउनलाई सहज बनाउन आग्रह गर्नु भएको छ । यद्यपि धेरै अमेरिकीहरू कोविड–१९ बाट सतर्क देखिएका छन् किनभने राष्ट्रव्यापी पुष्टि भएका घटनाहरूको संख्या १६ लाख नाघिसकेको छ ।

क्यालिफोर्नियामा धेरै व्यवसाय र मनोरन्जन गतिविधिहरू फेरि खुल्न थालेका छन् भने लस एन्जलस काउन्टीका अधिकारीहरूले जुलाई ४ तारिखसम्म कडा प्रतिबन्ध कायम राख्ने बताएका छन् ।

न्यूयोर्कमा पहिलोपटक धेरै हप्तापछि कोरोनाभाइरसबाट दैनिक मृत्यु सबैभन्दा कम अर्थात् ८४ जनाको मृत्यु भएको छ । एकपटक अप्रिल ८ मा यस राज्यमा एकै दिन ७९९ जनासम्मको ज्यान गएको थियो ।

करिब एक लाख ५५ हजार संक्रमित देखिएको टर्कीले रमजानको दिनमा पनि कडा लकडाउन जारी राखेको छ । यमनका हुथी विद्रोहीहरूले धार्मिक कार्यमा मास्कको प्रयोग गर्न र घरभित्र बस्न आग्रह गरेका छन् ।

कोरोनाभाइरस नियन्त्रणमा प्रशंसनीय कार्य गरेको जर्मनीको उत्तरपश्चिममा रहेको एउटा रेष्टुरेन्टमा सात जनामा संक्रमण भएको देखिएको छ । दुई हप्ता अघि रेष्टुरेन्टहरू खोलिएपछि यो पहिलो घटना हो ।

ल्याटिन अमेरिका भाइरसको नयाँ केन्द्रबिन्दुका रुपमा प्रकट भएको छ । विज्ञहरूले सरकारी कार्यको सीमितताका कारण संक्रमण व्यापक रुपमा फैलिएको बताएका छन् । यी मुलुकमा लाखौं मानिस अनौपचारिक रोजगारीमा छन् र उनीहरु सबैलाई नियन्त्रणमा राख्नु प्रहरीका लागि फलामको च्युरा चपाएसरह हो ।

ब्राजिल र मेक्सिकोमा यस हप्ता लगभग दैनिक संक्रमण र मृत्युको रेकर्ड संख्या देखिएको छ । लकडाउनप्रति खासै चासो नदिएको भन्दै यी दुबै मुलुकका राष्ट्रपतिमाथि चौतर्फी आलोचना भइरहेको छ । पेरू, चिली र इक्वेडरको स्वास्थ्य सेवामा ठूलो समस्या देखिएको छ ।

भारतमा दैनिक ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भेटिएसँगै यहाँ चिन्ता बढेको छ । भारतमा दुई महिनादेखि जारी लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या नाटकीय रुपमा बढेको छ ।

केही देशमा संक्रमणको दोस्रो लहर देखिँदैछ । युरोपमा पछिल्लो पटक नराम्रोसँग प्रभावित रूसले भाइरस प्रसार रोक्न विशेष कदम चालिरहेको छ तर शनिबार एकै दिन ९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।
––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ७ : ५७ बजे