२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल आमाको मूर्ति निर्माणमा रु ५० लाख सहयोग


१२ असार २०७७, शुक्रबार  

0
Shares


१२ असार ०७७, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुने भएको छ । यस मूर्ति निर्माणका लागि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मूर्ति निर्माण समितिका अध्यक्ष जनकराज जोशीलाई रु ५० लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।
मूर्ति निर्माणका लागि रु एक करोड रकम उपलब्ध गराउने प्रतिबद्धताअनुसार तत्काल रु ५० लाखको चेक हस्तान्तरण गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । प्रतिबद्धताअनुसारको बाँकी रकमसमेत केही महिनाभित्रै उपलब्ध गराइने उहाँले बताउनुभयो ।
मूर्ति निर्माणका लागि लागि भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का लिई निर्माण कार्य शुरु गरेको छ । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेची–काली भ्रमण गरी मूर्ति निर्माणका लागि धातु सङ्कलन गर्नुभएको छ । मूर्ति निर्माणका लागि सुन, चाँदी पितल, तामालगायत धातु सङ्कलन गरिएका छन् ।
मूर्ति निर्माणका लागि भ्रमणका क्रममा उहाँले रु एक करोड, ८४ लाख, ७२ हजार चार रकम सङ्कलन गरेका थिए । मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ । तीन वर्षभित्र मूर्ति निर्माणको कार्य पूरा हुने बताइएको छ । अष्टधातुको नेपाल आमाको ७५ फिटको मूर्ति बनेपछि देश विदेशका पर्यटक यसको दर्शनका लागि पुग्ने भएकाले यस क्षेत्रको महिमा बढ्ने भएको छ । तीन रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।