२ साउन ०७७, पोखरा । स्थानीय न्युरोडस्थित गुरुङ ब्युटी एकेडेमीले साउने सङ्क्रान्तिका अवसरमा मेहन्दी प्रतियोगिता गरी चार उत्कृष्टलाई पुरस्कृत गरेको छ । मेहन्दीकला सिकिरहेका सात प्रशिक्षार्थीबीच प्रतिस्पर्धा गराइएको थियो । एकेडेमी सञ्चालक एवम् वरिष्ठ ब्युटिसियन चिनु गुरुङले हरेक वर्ष साउने सङ्क्रान्तिमा मेहन्दीकला प्रतियोगिता हुँदै आएकामा अहिले कोभिड–१९ का कारण सीमित सहभागीबीच सामाजिक दूरी कायम गरेर प्रतियोगिता गराइएको जानकारी दिएकी छिन् ।
प्रतियोगितामा सुमना श्रेष्ठ प्रथम, सनम गुरुङ द्वितीय, साजिमा गुरुङ तृतीय र सीमा परियारले सान्त्वना पुरस्कार पाउन सफल भएका छन् । विजेताले हेयर ड्रायर, हेयर आइरन, मेकअप ब्रस र हेयर रोलर प्राप्त गरेका छन् । विसं २०५२ देखि सञ्चालनमा आएको एकेडेमीका पोखरामा चार र दुलेगौँडामा एक गरी पाँच शाखा छन् । एकेडेमीले पार्लरसम्बन्धी बेसिक, डिप्लोमा र एडभान्स कोर्षमार्फत तालीम दिँदै आएको छ ।
सञ्चालक गुरुङका अनुसार हालसम्म करीब एक हजारले ब्युटी पार्लरसम्बन्धी तालीम लिइसकेको तथा सिकेकामध्ये करीब ६ सय जनाले स्वरोजगार भएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न, हिंसापीडित र अपाङ्गता भएका महिलालाई एकेडेमीले आत्मनिर्भर बनाउनका लागि निःशुल्क तालीम प्रदान गर्दै आइरहेको छ ।
२ श्रावण २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया