२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाडी किन्न बजेटले प्राविधिक कलेज, मेयर भने साइकल चड्दै


२ श्रावण २०७७, शुक्रबार  

0
Shares


२ साउन ०७७, भद्रपुर । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ ।
गत आर्थिक वर्ष २०७६र७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गरे । “बजेटमा रकम छुट्याइएको थियो, प्रमुखले सवारीसाधन किन्न मान्नुभएन”, कनकाईकी उपप्रमुख मञ्जु प्रसाईले भनिन्, “त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो ।”
नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाएका हुन् । अहिले त्यही सवारीसाधन खरिद किन्ने भनिएको बजेटबाटै शुरु भएको कनकाई पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा छ । नगरपालिकाले गाडी खरिदका लागि विनियोजन भइसकेको रु ६० लाखमध्ये रु ३० लाख रकम कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि लगानी गरिएको र अरु रकम साइकल लेन र पुल निर्माणमा छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए ।
कनकाई–७ दुर्गापुरमा सञ्चालित कनकाई पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका थिए । त्यहाँ सिटीइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इञ्जिनीयरिङ, जियोमेटिक्स इञ्जिनीयरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ ।
इन्स्टिच्युटलाई नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा सामुदायिक साझेदारीमा आधारित इञ्जिनीयरिङ कलेजको रुपमा विस्तार गर्ने योजना रहेको नगरप्रमुख पोखरेलले बतार्ए । नयाँ आर्थिक वर्ष २०७७÷७८ मा समेत कनकाई नगरपालिकाले सो इन्स्टिच्युटका लागि रु ३० लाख बजेट विनियोजन गरिसकेको छ । नगरप्रमुख पोखरेलका अनुसार नगरको वडा नं ५ मा इञ्जिनीयरिङ कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १६ बिगाहा जग्गा लिजमा लिने कार्य भइसकेको छ ।
यो परियोजनालाई नगरको गौरव आयोजनामा समेटिएको छ । यहाँ अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई नगरपालिकाले नगरभित्रै रोजगारी दिलाउने सोचसमेत बनाएको छ । ‘कमाइका लागि शिक्षा’ कार्यक्रमअन्तर्गत प्राविधिक विद्यार्थीलाई निर्माणाधीन परियोजनामा पारिश्रमिक दिएर काम गराउँदै सिकाउने नयाँ कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
साइकल चढ्छन् प्रमुख
नगरपालिका स्थापना हुँदा प्रदेश सरकारले कनकाईलाई एउटा सानो पुरानो जीप दिएको थियो । अति आवश्यक पर्दा नगरप्रमुख र उपप्रमुखले त्यही गाडी प्रयोग गर्दै आउनु भएको छ । नगरप्रमुख पोखरेल कहिलेकाहीँ घरबाट साइकल चढेर नगरपालिका आउछन् भने नजिक फिल्ड जाँदासमेत उहाँले साइकल प्रयोग गर्दै आएका छन् ।

“साइक्लिङ कल्चर बनोस् भनेर साइकलको प्रयोग गरेको हुँ”, उनी भन्छन्, “सानो आम्दानी भएको नगरपालिकाले गाडी खरिदमा लाखौँ खर्च गर्नहुँदैन भन्ने हाम्रो सोच हो ।” नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा गाडी खरिदका लागि छुट्याइएको बजेट रकमान्तर गरेर रु छ लाख साइकल लेन निर्माणमा लगाउने तयारी गरेको थियो तर कोरोना कहरका कारण साइकल लेनको निर्माण नयाँ आर्थिक वर्षमा मात्र हुने भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।