५ साउन ०७७, काठमाडौं । शेयर बजारमा आइतबार उच्च अङ्कको वृद्धि देखिएको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । कारोबार शुरु भएको एक मिनेट पनि नबित्दै नेप्से चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट लागेको २० मिनेटपछि खुलेको बजारमा दोस्रो पटक पनि सर्किट ब्रेक लागेको थियो । शुरुआती समयमा उच्च वृद्धि देखिए पनि अन्त्यसम्म नेप्सेको वृद्धि टिक्न सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.०९ अङ्कले घटेर एक हजार ४६४.९४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.८४ अङ्कले घटेर ३०९.६० मा झरेको छ । आज कूल १ सय ८१ कम्पनीका ७० लाख एक हजार २ सय ५८ कित्ता शेयर रु दुई अर्ब ८० करोड २२ लाख ३३ हजार ७ सय १५ मा खरिदविक्री भए । कारोवार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ ।
बैंकिङ ३.१४, विकास बैंक १६.९३, वित्त १.१५ र सामूहिक लगानी कोष ०.०१ ले बढ्दा व्यापार ३७.८५, होटल ६६.११, जलविद्युत् १२.४५, निर्जीवन बीमा ४१.५५, उत्पादन १ सय २७.४३, अन्य २२.०९, लघुवित्त ८७.३९, र जीवन बीमा १ सय ८८.६५ अङ्कले घटेको छ ।
कारोवार रकमका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु २० करोड १४ लाख ९९ हजार ५ सय १६ मा खरिदविक्री भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनी रु १७ करोड ६३ लाख ८२ हजार ७ सय ९९, एनआईसी एशिया बैंक रु १७ करोड ४८ लाख ७३ हजार ३ सय ५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ५५ लाख ८१ हजार १ सय ९५ र नबिल बैंक शेयर रु १० करोड ४३ लाख ३३ हजार ८ सय ३५ मा खरिदविक्री भयो ।
आज सबैभन्दा बढी युनाइटेड फाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए । यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था ९.९०, स्पर्श लघुवित्त वित्तीय संस्था ९.८०, हिमालयन ऊर्जा विकास कम्पनी ८.८९, राष्ट्रिय बीमा कम्पनी (संस्थापक) ८.७१, आईसीएफसी फाइनान्स ६.१८, गुर्खाज फाइनान्स र कालिका पावर कम्पनीका शेयरधनीले समान ५.८३÷५.८३ प्रतिशतले कमाए ।
सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले गुमाए । यस्तै मञ्जुश्री फाइनान्स ९.७६, शिवम् सिमेन्ट लिमिटेड ८.८९, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ८.६७, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ७.५५ र नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.१७ प्रतिशतले गुमाए ।
प्रतिक्रिया