१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विर अमरसिंह थापाको शालिक स्थापना


१७ श्रावण २०७७, शनिबार  

0
Shares


गलकोट नगरपालिकामा सय बगाले थापा समाजले स्थापना गरेको राष्ट्रिय विभूति वडाकाजी अमरसिँह थापाको अर्धकदको शालिक । थापाको २०४ औँ स्मृति दिवसका अवसरमा शुक्रबार शालिक अनावरण गरिएको छ । तस्वीर ः रामबहादुर थापा/रासस

१७ साउन ०७७,वाग्लुङ्ग । गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति वडाकाजी अमरसिँह थापाको अर्धकदको शालिक स्थापना गरिएको छ । शालिकको शुक्रबार बगाले थापा क्षेत्री समाज धवलागिरिका अध्यक्ष भीमबहादुर थापा, त्रिभुवन विश्वविद्यालय सभा सदस्य प्राडा दीनबहादुर थापा र सात सय बगाले थापा समाज मल्म, गलकोटका अध्यक्ष दलबहादुर थापाले संयुक्त रुपमा अनावरण गरेका छन् ।
राष्ट्रिय विभूति थापाको २०४औँ स्मृति दिवसका अवसरमा सात सय बगाले थापा समाजले शालिक स्थापना गरेको हो । अनावरण कार्यक्रममा बोल्दै बगाले थापा क्षेत्री समाज धवलागिरिका अध्यक्ष थापाले नेपालको एकीकरण र रक्षाका लागि अमरसिँह थापाको अतुलनीय योगदान रहेको बताए । “पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि अङ्ग्रेजसँगको लडाइँका सयौँ मोर्चामा अमरसिँह थापाले नेतृत्व गरे”, उनले भने, “उनीजस्ता वीरपुरुष नभएका भए सायद आज नेपालको अस्तित्व नरहन सक्थ्यो ।”त्रिभुवन विश्वविद्यालय सभा सदस्य प्राडा थापाले अमरसिँह साझा राष्ट्रिय व्यक्तित्व भएको बताएका छन् । उनले शालिक स्थापनाले राष्ट्रिय विभूतिको योगदानलाई चिरस्थायी बनाउने धारणा राखे ।
सात सय बगाले थापा समाज मल्म, गलकोटका अध्यक्ष थापाले आफ्ना पूर्वजको सम्मानमा शालिक स्थापना गरिएको हो । निर्माणाधीन अवस्थामा रहेको अमरसिँह पदमार्गछेउ शालिक राखिएको हो ।शालिकलगायत संरचना निर्माणमा झण्डै रु तीन लाख खर्च भएको निर्माण समितिका अध्यक्ष छुमबहादुर थापाले बताए । शालिक निर्माणका लागि बगाले थापा समाज बेलायतबाट नगद रु एक लाख ७० हजार सहयोग प्राप्त भएको थियो ।
देशविदेशमा रहेका अन्य सहयोगदाताबाट समेत रकम जुटाएर शालिक बनाइएको हो । शालिक राख्ने स्थलका लागि मनकुमारी थापाले निःशुल्क जग्गा उपलब्ध गराएकी थिइन । सानोखोला–बगाले थापा कूल मन्दिर हुँदै पर्यटकीयस्थल राम्चेढुङ्गा जोड्ने गरी अमरसिँह पदमार्ग निर्माणाधीन अवस्थामा छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : ४९ बजे