१९ भदौं ०७७,धादिङ्ग । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र लबडाउनपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् ।
धादिङ, नीलकण्ठ– ७ मा जन्मिएका कवि वासुदेव अधिकारीको पछिल्लो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ यसैको एक उदाहरण हो । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित सो ‘बस्तीमा आगो’ मा लामा र छोटा ६१ कविता छन् । सबै कोरोना महामारी र परिवेशसँग जोडिएका कविता हुन् । प्रखर व्यङ्ग्यचेतभित्र सरल र सन्देशयुक्त कविता लेख्न सक्ने साहित्यिक पत्रकारितामा पनि संलग्न कवि अधिकारीको सङ्ग्रहमा कोरोनाले विश्वव्यापी प्रभाव जमाउन सक्नुमा मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार रहेको अभिव्यक्त गरिएको छ ।
कवितामा सङ्क्रमित मानिसलाई गरिने असामाजिक र अपमानजनक व्यवहार अमानवीय भएको तथा महामारीबाट बच्न हरेक नागरिकले स्वास्थ्य सुरक्षाका लागि आफ्नो कर्तव्य पालना नगरी सरकार वा कुनै एक पक्षलाई मात्रै जिम्मेवार देख्ने प्रवृत्ति गलत रहेको कवितामा प्रकट गरिएको छ । रुघाखोकीका रुपमा अर्थ लगाइएपनि कोभिड –१९ संसारभर आगोसरी फैलिएको र यसको रोकथाममा सबैको एकताबद्ध र जिम्मेवार पहलका लागि सङ्ग्रहले आह्वान गरेको छ ।
हाल नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष कवि अधिकारीका यसअघि ‘समयका स्वरहरु’ (कविता), ‘मनको हरियो मनको गीत’ (गीत), ‘आफन्तलाई सम्बोधन’ (कविता), ‘युरोस्पर्श’ (कविता) (नेपाल भाषामा पनि अनुदित) र ‘गायब सभामुख’ (कविता) सङ्ग्रह प्रकाशित छन् ।
प्रतिक्रिया