२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काभ्रेमा कोरोना कहरकै बीच पढाई शुरु


११ आश्विन २०७७, आइतबार  

0
Shares


११ असोज ०७७, काभ्रे : काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमका बीच लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् ।
जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् । पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।
विद्यालय सञ्चालन गर्न यसअघि नगर शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वडा नं ४ लामीडाँडास्थित गोल्मादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक विद्यालक्ष्मी देउजाले बताइन् । “हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी बुधबारबाट कक्षामा पठनपाठन सञ्चालन गरेकामा अझै पनि सबै विद्यार्थीलाई विद्यालयमा नआइसकेकाले सबैलाई ल्याउने प्रयत्न भइरहेको छ”, उनले भनिन् ।
लकडाउनका कारण विद्यालय बन्द हुँदा अवरुद्ध रहेको शिक्षण क्रियाकलापलाई असार १४ गतेबाट ‘टोल शिक्षा’को रूपमा टोलटोलमा नै गएर पढाउने र साउन १६ गतेबाट ‘हेलो लर्निङ’ भनेर शिक्षकलाई अनलाइनबाट हप्तामा दुई दिन भए पनि पढाउने व्यवस्था गरेकामा अहिले आएर सोमबारबाट प्रत्यक्षरूपमा कक्षामा नै आएर पढाउन थालेको प्रधानाध्यापक देउजाले बताए ।
विद्यालय सञ्चालनमा आएपछि पहिलोपटक कक्षाकोठामा बसेर पढन् पाउँदा खुशी लागेको सोही वडास्थित जिरोकिलोमा रहेको इन्द्रेणी विद्यामन्दिर कक्षा ७ का कृष्पा न्यौपानेले बताए । “बन्दाबन्दीका बेलामा घरमा बस्दा आफँैले किताबको उदाहरणहरु हेर्दै स्वअध्ययन गरिरहेको थिएँ तर त्यसरी पढ्दा नबुझेका कुराहरुमा धेरै समय अल्झिनुपरेको थियो”, उननले भने ।

परिस्थिति हिजोको भन्दा सहज नभए पनि मनस्थिति बलियो बनाएर आफूहरुले कक्षा सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल रामहरि सापकोटाले बताए । “पढाउँदा भौतिक दूरी कायम राखेर मास्क अनिवार्य गराएका छौँ”, उनले भने, “कोरोनासँग भागेर होइन, त्यसका विरुद्धमा लड्दै एउटा कक्षामा १० वटा बेञ्च राखेर दैनिक बिहान, दिउँसो र बेलुकाको सत्र बनाएर पठनपाठन शुरु गरेका छौँ ।”

सो वडाका वडाध्यक्ष सुन्दर लामाले अभिभावकबाट नै अब पठनपाठन शुरु गर्नुपर्छ भन्ने खालको सुझाव आएपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग छलफल गरेर विद्यालय सञ्चालनमा ल्याएको बताए । विद्यालय सञ्चालनमा आएसँगै नगरप्रमुख महेश खरेलले विद्यालय सञ्चालनको अवस्था र त्यहाँ भएको समस्याहरुका बारेमा अनुगमन गरी जानकारी लिने काम गर्दै आउका छन् । लामो समयसम्म घरमै रहँदा विद्यार्थीमा हुनसक्ने मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरेको उनले बताए । नगरभित्र सामुदायिक ३९ र संस्थागत ११ विद्यालय रहेका छन् ।

तेमाल गाउँपालिकामा विद्यालय अनुकूलता हेरेर सञ्चालनमा आएका छन् । वडा नं ७ स्थित भूमेश्वर आधारभूत विद्यालय कुरुवासमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक कर्मचारीको संयुक्त बैठकले मङ्गलबारबाट दिनको तीन सत्रमा चलाउने निर्णय गरिएबमोजिम बिहान, दिउँसो र बेलुका गरी कक्षा सञ्चालन शुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक कुवाङछु लामाका अनुसार बालकक्षा भने हप्ताको छ दिन नै सञ्चालन गर्ने निर्णय गरेको छ । तेमालका सबै विद्यालय आ–आफ्नो अनुकूलता मिलाएर सिकाइ सहजीकरण कार्यविधिअनुसार कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष सलामसिं लामाले विद्यालय क्षेत्रमा पूर्णरूपमा निर्मलीकरण गरेर सबै विद्यालयमा मास्क, स्यानिटाइजर र साबुनलगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेपछि पठनपाठन शुरु गरेको बताए । तेमालमा ४१ विद्यालय छन् ।

काभ्रेको रोशी गाउँपालिकाले पनि बुधबार सूचना जारी गर्दै गाउँकार्यपालिकोका बैठकले गाउँ शिक्षा समितिले तयार गरेको सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई स्वीकृत गर्दै त्यसका आधारमा पठनपाठन शुरु गर्न विद्यालयलाई निर्देशन जारी गरेको छ । सोअनुरुप ३० जनाभन्दा कम विद्यार्थी भएको विद्यालयले सरोकारवालासँगको छलफलमा दैनिक एक सिफ्टमा सिकाइ सहजीकरण गर्ने, ५० र ७५ जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएको विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने, एक सयजनाभन्दा कम भएको विद्यायले तीन सिफ्टमा सञ्चालन गर्ने र एक सयभन्दामाथि विद्यार्थी सङ्ख्या भएको विद्यालयले बारअनुसार दैनिक तीन सिफ्टमा कक्षा सञ्चालन गर्न पाउने गरी निर्देशन जारी गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर तामाङले बताए । विद्यालय सञ्चालन गर्नुपूर्व पालिकाले विद्यालयलाई व्यक्तिगत सुरक्षा सामग्री स्यानिटाइजर र मास्क वितरण गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।